काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९००डी’ सिरिजका जहाज विस्थापन गर्ने भएको छ।
१४ थान ‘एटिआर’ जहाजबाहेक दुईथान बिचक्राफ्ट उडाइरहेको बुद्धले ती बेचेर एटिआर नै थप्ने योजना रहेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
‘बढ्दो प्रतिस्पर्धा ध्यानमा राख्दै हाल सञ्चालनमा रहेका दुइटा बिचक्राफ्ट जहाज बेच्ने र नयाँ एटिआर थप्ने योजना छ,’ बस्नतेले क्यापिटल नेपालसँग भने, ‘एक त जहाजको इन्जिनको आयु घट्दै गएको छ भने एटिआर जहाज हामीसँग धेरै छन्। मर्मतका लागि पनि सहज होस् भन्ने उद्देश्यले बिचक्राफ्ट बेच्ने निर्णयमा पुगेका हौं।’
उनका अनुसार बिचक्राफ्ट जहाज बेच्ने निर्णय भइसकेको छ। ग्राहक खोज्ने काम पनि भइरहेको छ, तर हालसम्म पाउन सकिएको छैन। योसँगै बुद्धले ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजका जहाजका पनि विकल्प खोज्ने तयारी गरिरहेको छ। हाल केही विमानस्थल स्तरोन्नतिको काम भइरहेको र केहीको तयारी रहेकाले केही वर्षभित्र ती जहाज पनि विस्थापन गरी ७२ सिटे ‘एटिआर७२–५००’ सिरिजका जहाज ल्याउने योजना बस्नेतले सुनाए।
बढ्दो प्रतिस्पर्धा र यात्रका माग ध्यानमा राख्दै सबै विमानस्थलमा ठूला जहाज सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। हाल एटिआर४२–३२० तीन थान र ११ थान एटिआर७२–५०० जहाज सञ्चालनमा छन्। १६ जहाजमार्फत उडान गर्दै आएको बुद्धले २०२३ भित्र ७२ सिट क्षमताका थप तीनथान जहाज ल्याउने बस्नेतले जानकारी दिए।
बुद्धले हाल दैनिक ८ हजारभन्दा बढी यात्रुलाई मुलुकका विभिन्न गन्तव्य पु¥याउँदै आएको छ। बुद्धमा १ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उसको आफ्नै सुविधा सम्पन्न ‘ह्यांगर’ पनि छ।
साढे दुई दशकअघि १८ सिट क्षमतायुक्त एकथान बिचक्राफ्ट१९०० जहाजबाट आन्तरिक उडान थालेको बुद्धले हालसम्म १ करोड ८० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइसकेको छ।
बुद्धले सन् १९९७ अक्टोबर ११ (२०५४ असोज २५) बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो। त्यसयता हालसम्म उसले १ करोड ८० लाख ३२ हजार ४ सय ५८ यात्रु बोकिसकेको छ। आन्तरिक उडानमा करिब ५६ प्रतिशत बजार हिस्सा ओगट्न सफल बुद्धले हालसम्म २ लाख ६४ हजार ९ सय १८ उडान गरिसकेको छ।
बुद्धले काठमाडौंबाट विराटनगर, तुम्लिङटार, भद्रपुर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र माउन्टेन फ्लाइट तथा अन्तर सहर उडान पनि गरिरहेको छ।