काठमाडौं । एनआईसी एसिया र माछापुच्छ्रे बैंकसहित ११ वित्तीय संस्थाका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । केन्द्रीय बैंकको नियमअनुसार हुनुपर्ने प्राथमिक पुँजी कोष (कोर क्यापिटल) पुर्याउन नसकेपछि ती संस्थाहरुले गतवर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिन नपाउने भएका हुन्।
वित्तीय संस्थामध्ये अधिकांश समस्याग्रस्त स्थितिबाट माथि उठ्दै गरेका वित्त कम्पनीहरु छन् । एनआईसी एसिया र माछापुच्छ्रे बैंकले गत वर्षको केही महिना पुँजीकोष मेन्टेन गर्न नसक्दा लाभांश वितरण गर्न नपाउने भएका हुन्। वाणिज्य बैंकमा दुई बैंक मात्रै छन्।
एनआईसीले अघिल्लो आर्थिक वर्षमा पुँजीकोष नपुगेपछि गत वर्ष सञ्चालक समितिले सिफारिस गरेको १५ प्रतिशत लाभांशलाई केन्द्रीय बैंकले रोकिदिएको थियो। गतवर्ष माछापुच्छ्रे बैंकले भने १४ प्रतिशत लाभांश दिएको थियो। तर, गत आर्थिक वर्षको नाफाबाट यस वर्ष माछापुच्छ्रेले लाभांश दिन सक्दैन।
बैंकहरुले हरेक महिना पुँजीकोष मेन्टेन गर्नुपर्छ। यदि एक महिनामात्रै पुँजीकोष व्यवस्थापन गर्न नसकेको अवस्थामा पनि त्यसवर्ष लाभांश दिन सक्दैनन्। एनआईसी एसिया र माछापुच्छ्रेले बीचका महिनामा पुँजीकोष व्यवस्थापन गर्न नसक्दा लगानीकर्ता यसवर्ष रित्तै भएका हुन्।
विकास बैंकअन्तर्गत नारायणी डेभलपमेन्ट, कर्णाली विकास, सप्तकोसी, सिन्धु विकास बैंकले पनि पुँजीकोष व्यवस्थापन गर्न नसक्दा लगानीकर्ता लाभांश पाउनबाट बञ्चित हुन पुगेका हुन्।
त्यसैगरी, वित्त कम्पनीअन्तर्गत बेष्ट फाइनान्स, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स र गोर्खाज छन् । समस्याग्रस्त जनरल फाइनान्समा नयाँ लगानीकर्ता भित्रिएपछि बेष्ट फाइनान्स बनेको थियो। पछि बेष्ट फाइनान्समा सिजर्नी फाइनान्स विलय भयो।
समस्याग्रस्त नेपाल फाइनान्स र समस्याग्रस्त ललितपुर फाइनान्समा नयाँ लगानीकर्ता भित्रिएसँगै दुवै फाइनान्स एक भएर नेपाल फाइनान्स बनेको हो।
समस्याग्रस्त गोर्खा डेभलपमेन्टको पुँजी घटाएर काठमाडौं फाइनान्ससँग मर्ज भएपछि गोर्खाज फाइनान्स बनेको हो । समस्याग्रस्त वल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा नयाँ लगानीकर्ता आए पछि समृद्धि फाइनान्सका रुपमा परिचित भएको हो । यी संस्थाहरुले लामो समयदेखि लगानीकर्तालाई लाभांश दिएका छैनन्।
जोखिमका आधारमा प्राथमिक पुँजीको अनुपात (सिसिएआर) नपुगेकै कारण लाभांश वितरणमा रोक लाग्ने सम्भाना बढेको हो । यस्तो अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत हुनुपर्छ । यो अनुपात नपुग्ने बैंकले लाभांश बाँड्न पाउँदैन । बैंकहरुको यस्तो अनुपात बढाउने माध्यम भनेको प्राथमिक पुँजीमा वृद्धि हो।