काठमाडौं । केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ कात्तिक १ बाट लागू गर्ने निर्णय गरेसँगै बैंकहरु ठूलो दबाबमा परेका छन् ।
चालू पुँजी कर्जाका नाममा ठूलो कर्जा गएको र त्यसलाई व्यवस्थापन गर्न गम्भीर नदेखिए केन्द्रीय बैंकको डण्डा खप्नुपर्ने बाध्यात्मक अवस्था आएपछि उनीहरु गम्भीर छलफलमा जुटेका हुन् ।
बैंकरका अनुसार औसतमा ५० प्रतिशतमाथि चालू पुँजी कर्जा बैंकबाट गएको छ । केन्द्रीय बैंकले २० प्रतिशत मात्रै चालू पुँजी कर्जा दिन बैंकहरुलाई निर्देशन जारी गरिसकेको छ । यस्तो अवस्थामा प्रवाह भइरहेको कर्जालाई व्यवस्थापन गर्ने उपायमाथि निरन्तर छलफल चलाइरहेका छन् ।
भएभरको चालू चालू पुँजी कर्जालाई टर्मलोनमा कन्भर्ट गर्दा ऋणीले मासिक किस्ता वा ब्याज तिर्न सक्दैन । हरेक बैंकले आफ्ना ऋणीको क्षमतासमेत विश्लेषण गरिसकेका छन् ।
चालू पुँजी कर्जा मार्गदर्शनले बैंकर मात्रै नभई व्यवसायी पनि गम्भीर समस्यामा पर्ने अवस्था आइसकेको छ । धेरैजसो व्यवसायीले हुँदै नभएको स्टक देखाएर पनि चालू पुँजी कर्जा लिएका छन् । त्यसरी लिएको कर्जा जग्गामा लगानी गरेको केन्द्रीय बैंकको निगरानीबाट समेत फेला परेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चालू पुँजी कर्जाको सन्दर्भमा केन्द्रीय बैंकलाई बारम्बार धच्धच्याइरहेको थियो । कर्जा दुरुपयोग चरम बढेको र यसलाई केन्द्रीय बैंकले नीतिगत रुपमा निर्णय नगरे भविष्यमा गम्भीर दुर्घटना निम्तिनसक्ने चेतावनी कोषको थियो ।
कोषको चिन्तालाई सम्बोधन गर्दै केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन जारी गरेर कार्यान्वयनका लागि एकीकृत निर्देशनसमेत ल्याइसकेको छ । बैंकहरुले कात्तिक १ गतेबाट कार्यान्वयन गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले २०७९ कात्तिक १ गतेदेखि चालू पुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्दा यस बैंकबाट जारी ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ बमोजिम गर्नुपर्नेछ ।
‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालू पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ ।
मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था मार्गदर्शन लागू भएको पहिलो वर्ष अनिवार्य हुने छैन भनिएको छ ।
बैंकहरुले बेलैमा चालू पुँजी कर्जालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ठूलो रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । त्यही भएर बैंकरहरु व्यवस्थापनका लागि जुटेका छन् । बैंकरहरु अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका व्यक्तिसँग चालू पुँजी कर्जा व्यवस्थापनको आइडियासमेत लिन थालेका छन् ।