काठमाडौं । गैरआवासीय नेपालीले प्रवर्द्धन गरेको सानिमा ग्रुपले २८१ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनाको सेयर बिक्री गरेको छ ।
सानिमाले माथिल्लो तमोर आयोजनाको ९२ प्रतिशत सेयर जलविद्युत लगानीकर्ता पुष्पज्योति ढुंगानालाई बेचेको हो । सेयर बिक्री भए पनि स्वामित्व हस्तान्तरणको काम बाँकी रहको ग्रुप स्रोतले क्यापिटल नेपाललाई बतायो ।
अहिले आयोजनाको अध्यक्ष ढुंगाना रहेका छन् । आयोजनामा सानिमा ग्रुपको ८ प्रतिशत मात्र स्वामित्व रहेको छ । आयोजना सानिमाले तमोर सानिमा इनर्जी लिमिटेडमार्फत निर्माणको तयारी थालिएको छ ।
अर्धजलाशय (पीआरओआर) आयोजना निर्माण गर्ने लागेको थियो । कम्पनीले आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न विद्युत नियमन आयोगमा दर निर्धारण र विद्युत खरिद सम्झौता (पीपीए) का लागि निवेदन दिएको छ । आयोगले पीपीए दर निर्धारण र सम्झौताको स्वीकृतिका लागि भदौ ३० गते सार्वजनिक सुनुवाइको आयोजना गरेको छ ।
आयोगले भदौ ३० गते सार्वजनिक सुनुवाइसमेत गरिसकेको छ । आयोगले सहमति दिएपछि नेपाल विद्युत प्राधिकरण र आयोजनाका लगानीकर्ताबीच पीपीए हुनेछ ।
कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । २०७५ जेठ २७ गते तमोर सानिमाले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७८ असार ८ गते बसेको लगानी बोर्डको ४७ औं बैठकले २८५ मेगावाटको माथिल्लो तमोर जलासयको लगानी स्वीकृत गरेको थियो ।
अर्धजलाशय आयोजना बनाउन ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट बिद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।
जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा प्रतियुनिट ४ रुपैयाँ र सुक्खायाममा (पिकिङ) अवधिका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र पिकिङ नभएको अवधिका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरेको नियमन आयोगले जनाएको छ ।
यस्तै प्रस्तावित आयोजनाको पीपीए दरअनुसार वार्षिक ३ प्रतिशतका दरदे ८ पटकसम्म मूल्यवृद्धि हुनेछ ।आयोजना ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्छ । आयोजना खरिदकर्ता ढुंगानाले ४४ मेगावाटको मादी जलविद्युत आयोजना बनाइरहेका छन ।