काठमाडौं। युरोपेली युनियन (ईयु) को टोलीले निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयरको ‘सेफ्टी अडिट’ सकाएको छ।
चार दिनअघि काठमाडौं आएको ईयु टोलीले तारा र समिटको अडिट गरिसकेको छ भने अब अन्य वायुसेवामा जाने उसको तयारी छ।
वर्षौंदेखि नेपाली जहाजलाई युरोपको आकासमा निषेध गर्दै आएको ईयुको यो ‘सेफ्टी अडिट’ लाई महत्वसाथ हेरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ईयुको अहिलेको अडिटले कालोसूचीबाट तत्कालै नहटे पनि त्यसका लागि बाटो खुल्ने बताए।
‘अहिलेको अडिट हाम्रा लागि निकै महत्वपूर्ण छ। यसले कालोसूचीबाट हट्ने बाटो खुलाउन सक्छ,’ महानिर्देशक अधिकारीले भने।
उता, समिट एयरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कार्कीले ईयु टोलीले अडिट नभई अध्ययन–अवलोकन गर्न आएको जानकारी आफूहरूलाई दिएको र त्यहीअनुसार आवश्यक कागजात उपलब्ध गराएको बताए।
‘हाम्रा कागजात र काम गराइको तौरतरिकामा सन्तुष्ट देखिएका छन्,’ सिइओ कार्कीले भने, ‘सम्भवतः अर्को अडिटमा नेपाल कालोसूचीबाट हट्नसक्छ।’
तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले ईयु टोलीले मागेको सबै कागजातमा सन्तुष्ट देखिएको बताए। ‘हामीले उपलब्ध गराएका सम्पूर्ण विवरणमा उनीहरू उत्साहित देखिएका छन्,’ उनले भने, ‘केही सुझाव दिन्छौं भनेका छन्, सायद प्राधिकरणबाट आउन सक्छ।’
पाँच दिनसम्म नेपाल रहँदा ईयु टोलीले वायुसेवा कम्पनीका लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्दिनेस, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रम एन्ड ग्राउन्ड एडलगायत आठ क्षेत्रमा अध्ययन गर्ने छ। ईयुले नेपाललाई सन् २०१३ देखि नै कालोसूचीमा राख्दै आएको छ।