एजेन्सी । यदि तपाईंको सम्पूर्ण जमिन कृषि तथा बासस्थानका लागि प्रयोग भएको छ भने तपाईं कसरी सौर्य ऊर्जाको उत्पादन बढाउनु हुन्छ ? यस प्रश्नको उत्तर तपाईंले जापानबाट पाउन सक्नुहुन्छ ।
जापानमा विश्वकै पहिलो फ्लोटिङ सोलार प्लान्ट निर्माण भएको छ । यो प्लान्ट सेन्ट्रल होन्सुस्थित आइची प्रिफेक्चरमा निर्माण भएको छ । विश्वका सय ठूला फ्लोटिङ सोलार प्लान्टमध्ये ७३ ओटा यहाँका आन्तरिक तलाउ र जलाशयहरुमा अवस्थित छन् र तीमध्ये आधा सोलार प्लान्टको सौर्य ऊर्जा क्षमता २४६ मेगावाट छ ।
दक्षिण होन्सुस्थित ह्योगो प्रिफेक्चरमा करिब ४० हजार तलाउ छन्, जसमा विश्वका सय ठूला फ्लोटिङ सोलार प्लान्टमध्ये आधा प्लान्ट त्यहाँ छन् । धेरै प्लान्ट साना क्षमताका छन् जसले सो क्षेत्रमा स्थानीय ऊर्जा वितरण गर्न सहयोग गरेको छ र विश्व आर्थिक मञ्चले यसलाई विश्वको ऊर्जा आपूर्तिमा परिवर्तन ल्याउने महत्त्वपूर्ण परियोजनाका रुपमा पहिचान गरेको छ ।
जापानको सबैभन्दा ठूलो फ्लोटिङ सोलार प्लान्ट चिबा प्रिफेक्चरस्थित इचाहारामा रहेको यामाकुरा बाँधको पछाडि छ । यसले त्यहाँको पानीमा १८ हेक्टर क्षेत्रफल ओगटेको छ र करिब पाँच हजार घरलाई ऊर्जा आपूर्ति गर्नुका साथै प्रत्येक वर्ष आठ हजार टन कार्बनडायोअक्साइडको उत्सर्जनलाई बचाइरहेको छ ।
वास्तवमा यो फ्लोटिङ सोलार एसियाका लागि एकदमै उपयुक्त छ, जहाँ जमिनको अभाव छ । तर, ट्रान्समिसन पूर्वाधारसहितका धेरै जलविद्युत् बाँध छन् । चीनले भर्खरै विश्वकै ठूलो फ्लोटिङ सोलार प्लान्ट अन्हुईमा कनेक्ट गरेको छ जसले आफ्नो पहिलो वर्षमा करिब ७८ हजार मेगावाट ऊर्जा उत्पादन गर्दै २१ हजार घरपरिवारलाई पर्याप्ट ऊर्जा आपूर्ति गरेको छ ।
तर, आन्हुईको यो रेकर्ड लामो समयसम्म सुरक्षित रहने छैन । किनभने दक्षिण कोरियाले चाँडै नै आफ्नो नयाँ फ्लोटिङ सोलार प्लान्ट तयार गर्दैछ जसले १०२.५ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्दै विश्वकै ठूलो फ्लोटिङ सोलार प्लान्ट बन्दैछ । यो प्लान्टबाट ३५ हजार घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । यस्तै सिङ्गापुरले पनि एउटा अफसोर फ्लोटिङ सोलार प्लान्ट जोहोर र थाइल्यान्डबीचको खाडीमा अर्थात् स्ट्रेटमा निर्माण गरेको छ, जहाँ उसले नौ ओटा जलविद्युत् बाँधका जलाशयमा १६ ओटा फ्लोटिङ सोलार प्लान्ट परियोजना विस्तारको योजना बनाइसकेको छ ।
![](https://www.capitalnepal.com/uploads/Data.png)
यो प्रविधि विशेषगरी नयाँ हो । यसको पहिलो पटक पेटेन्ट अधिकार २००८ मा लिइएको थियो र यसका समर्थकहरुले यो जमिनआधारित ऊर्जा प्लान्टभन्दा १६ प्रतिशत बढी प्रभावकारी हुने बताएका छन् । यस्ता परियोजनाले जमिन अभावको समस्या हल गर्नुका साथै मत्स्य उत्पादनलाई अवरोध पुर्याउने लेऊ पलाउन पनि रोक्छ र जलाशयबाट वाफ पलाउने दर पनि घटाउँछ ।
विश्वमा फ्लोटिङ सोलार प्लान्टको उत्पादन २०१४ देखि २०१८ का बीचमा सय गुणाले वृद्धि भएको छ । यसले परम्परागत जमिन आधारित सौर्य ऊर्जा उत्पादन प्रणालीभन्दा धेरै ऊर्जा प्रदान गर्न सक्छ । यसको गति पनि त्यहीअनुसार बढ्दै गइरहेको छ । भारतले पनि भर्खरै १० गिगावाटको फ्लोटिङ सोलार ऊर्जा क्षमताको परियोजना निर्माण गर्ने घोषणा गरेको छ ।
यद्यपि यसका समर्थकहरुले फ्लोटिङ सोलार प्लान्टको व्यापक सम्भाव्यताका बारेमा वकालत गरिरहँदा आलोचकहरुले यसले सूर्यको प्रकाशलाई छेकेर पानीभित्रको पर्यावरणलाई असर पुर्याउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । आलोचकहरुले खराब मौसमका समयमा यो एकदमै कमजोर हुने पक्षलाई पनि औंल्याएका छन् । २०१७ मा एउटा तुफानले ओसाका नजिक राखिएको त्यस्तो प्लान्टमा उल्लेखनीय क्षति पुर्याएको थियो ।
यसको असल पक्षका बारेमा कुरा गर्दा जलविद्युत् प्लान्टसँग लिङ्क भएको फ्लोटिङ सोलार प्लान्टमा पानीको मात्रा कम हुँदा ऊर्जा आपूर्तिलाई कायम राख्ने सम्भावना हुन्छ । विज्ञहरुका अनुसार पावर ग्रिड कमजोर हुने ठाउँमा यसले राम्ररी काम गर्छ । उनीहरुका अनुसार सहारा अफ्रिकाको उप क्षेत्र यो प्रविधिबाट लाभान्वित हुनसक्ने अर्को सम्भावित ठाउँ हो ।