काठमाडाैं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अंकले उकालो लागेर १ हजार ८९८ दशमलव ३८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ७८ अंकले उकालो लागेर ३ सय ७२ दशमलब २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार १ सय ४० रूपैयाँमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । जीवन बिमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आइतबारको कारोबारपछि कूल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २सय २२ रूपैयाँबराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार ७ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
नबिल बैंक ३ करोड ५१ लाख ९८ हजार ४ सय २९ रूपैयाँ, हिमालयन डिस्टिलरी २ करोड ३१ लाख ४४ हजार पाँच सय ७१ रूपैयाँ, अपि पावर कम्पनी १ करोड ८९ लाख १७ हजार २ सय ६९ रूपैयाँ र शिवम् सिमेन्टको १ करोड ७७ लाख ८४ हजार २ सय ५४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९ दशमलव ९५, उपकार लघुवित्त ९ दशमलव ८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८ दशमलव ७०, मितेरी डेभलपमेन्ट बैंक ८ दशमलव २३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।