काठमाडौं। दसैं–तिहार नजिकिएसँगै सुनचाँदीका गहना पसलमा ग्राहकको चाप अत्याधिक बढेको छ। विशेषतः काठमाडौंको न्युरोडमा सुन तथा हिराका गहना खरिद गर्नेको संख्या धेरै देखिन्छ।
तर, सरकारले सुन आयात सीमित गर्ने नियम बनाउँदा ग्राहकले मागअनुसारको सुन पाउन सकिरहेका छैनन्। सामान्यतयाः विवाहको लगनका महिना, तीज, दसैं, तिहारमा सुनचाँदीको माग बढ्ने व्यवसायीहरु बताउँछन्।
ग्राहकको मागअनुसार गहना बनाउन नसकेको न्युरोडको आरपी ज्वेलर्सका सञ्चलक यमराज रिजाल बताउँछन्। ‘विवाहको लगन, चाडबाडमा गहना धेरै खरिद हुन्छ । तर, यसपालि चुनावले गर्दा वैशाखमा विवाह कम भयो, मंसिरमा पनि चुनाव छ त्यसैले अहिले धेरै भीड भएको छ’, उनले भने।
ग्राहकको चाप पसलमा बढे पनि सुनचाँदी तथा हिराको आयात कम हुँदा माग धान्न समस्या भएको उनको भनाइ छ। क्यापिटल नेपालसँग उनले भने, ‘बैंकले पैसा पनि दिएको छैन, सुनचाँदी आयात गर्न पनि पाएको छैन। अलिअलि हामीसँग भएको र ग्राहकले ल्याएको पुरानो सुनबाट नयाँ गहना बनाइरहेका छौं।’
तर, कोरोना संक्रमण पहिलाको जस्तो ग्राहकहरुको भीड पसलमा नभएको सञ्चालकहरु बताउँछन्। सुनचाँदीको कारोबार मात्र नभई अन्य व्यवसाय पनि उस्तै देखिएको उनीहरुको भनाइ छ। विगतका वर्षमा झोलाभरि सामान बोकेर हिँड्ने ग्राहकहरु केही वर्षयता बजार घुमेर मात्रै फर्किएको देखिने गरेको उनीहरुको भनाइ छ।
नेक्लेस, चेन, ब्रासलेट, सिक्रीलगायत सामान बनाउन धेरै अर्डर आउने गरेको व्यवसायी बताउँछन्। चाडपर्व र विवाहको सिजनमा नेपाली बजारमा दैनिक ४० देखि ५० केजीसम्म सुनको माग हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै सामान्य समयमा भने दिनको २० केजीभन्दा बढी सुनको कारोबार हुँदै आएको छ।
कोरोना संक्रमण सुरु भएपछि २०७६ चैतबाट सरकारले लकडाउन गरेसँगै सुन आयातमा कडाइ गरेको थियो। त्यसअघि दैनिक २० किलो सुन नेपाल भित्रिएकोमा २०७६ चैतपछि १० किलो मात्रै आयात हुँदै आएको थियो।
सो व्यवस्था कायम रहिरहेको समयमा २०७८ चैतमा सरकारले सुनलाई विलासी वस्तुमो रुपमा राख्दै आयात प्रतिबन्ध नै लगाइदिएको थियो। उक्त व्यवस्था करिब डेढ महिनासम्म रहे पनि हाल १० किलोसम्म आयात गर्न महासंघले पाउँछ।
तर, १० किलोले बजारको माग धान्न समस्या भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्। ‘कोभिडपछि सबैभन्दा बढी यसपालि माग छ, तर सुन आयात १० किलोमा सीमित छ। चाडपर्वमा ४० देखि ५० किलो माग हुन थालेको छ’, उनले भने।
आयात गर्ने सुनको मात्रा बढाउन महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर माग गरेको महासचिव बज्राचार्य बताउँछन्। उनी भन्छन्, ‘प्रधानमन्त्रीसँग त भेट भएन सल्लाहकारसँग कुरा भएको थियो, हामी विचार गर्छौं भन्नुभयो। सरकारले डलर छैन भन्दै आएको छ।’
कोरोना संक्रमणपछि केही सुन पसल बन्द भइसकेको महासचिव बताउँछन्। यसरी नै सरकारले सुन आयात १० किलोमा सीमित गर्दै गएमा सुनचाँदी व्यवसायबाट पलायन हुने र व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।
हालसम्म सुनचाँदी व्यवसायमा कोरोना र आयात प्रतिबन्ध वा सीमित गर्ने नियमले धेरै व्यवसाय नछोडे पनि यही क्रम निरन्तर रहिरहने हो भने सुनचाँदी व्यसाय संकटमा पर्ने महासंघले जनाएको छ।