भरतपुर । झन्डै ६ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ ।
सुरुआतका चरणमा रूख कटान, विद्युत्को पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको थियो । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् ।
सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ । ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए। उनले भने, “यतिका वर्ष हुँदा पनि न काम गुणस्तरको छ, न समयमै सम्पन्न भएको छ ।”
उनले सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि समयमै सडक निर्माण गर्नेतर्फ ध्यान नदिएको बताउनुभयो । बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् ।
बसपार्क चोक–विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ । बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडकमै पर्ने कार्यालयकै अगाडि रहेको मन्दिरसमेत स्थानीयले भत्काउन नदिएको सडक डिभिजनका इन्जिनियर सागर कार्की बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
१५ महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले बताए । विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको उनको भनाइ छ ।
विद्युतले पोल नहटाउँदा सडक डिभिजनको कार्यालय अगाडि नै दुर्घटना भइरहेका छन् । त्यहाँ विद्युतले नयाँ पोल गाडिसकेको छ तर पुराना पोल हटाएको छैन । बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ–ठाउँमा पिच भत्किएको उनले बताए । स्थानीयले आ–आफ्नो घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले बताए ।
नयाँ सडक भए पनि ठाँउठाँउमा टालटुल गरिएका कारण पुरानो सडकजस्तै देखिने गरेको छ । ४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो ।
दुई वर्षमा सक्नुपर्ने विशालचोक–आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० देखि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो । कार्यालयले गएको साउनमा २०८० साल असारसम्मका लागि म्याद थप गरेको छ । २६ करोड रूपैयाँ लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा अहिले बेसको काम भइरहेको छ । २०७७ साल असोजमा सम्झौता भएको सडक खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन ।
यो खण्डको काम पनि चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने सरकारी निकायको समन्वय नहुँदा रूख कटानमा ढिलाइ, विद्युत्को पोल र खानेपानीको पाइप सार्न ढिलाइ गरेका कारण सडक निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् ।
राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न भन्दै विस्तार सुरु गरिएको यो सडकखण्ड समयमै निर्माण सम्पन्न गर्नका लागि पटक–पटक सरोकारवालाबीच छलफल र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिइएको थियो । तर निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ ।