काठमाडौं। केही समयअघि शिवम सिमेन्टले व्यापारमा चमक आएको आशयको सन्देश बजार पठायो । तर, वित्तीय विवरणले भने त्यो चमक पुष्टि गर्न सकेन । कम्पनीले राम्रो गरेको आशमा शिवमतिर आकर्षित लगानीकर्ता गत आवको वित्तीय विवरण आँउदा छाँगाबाट खसेजस्तै भए । हौवाका भरमा संस्थापक र सीमित लगानीकर्ताले भरपुर फाइदा उठाए भने सर्वसाधारण लगानीकर्ताको हात खाली भयो । शिवम सिमेन्टको लकिङ पिरियड खुलेसँगै चलेका अनेकन हल्लाबीच ३० लाख कित्ता बढी संस्थापक सेयर बिक्री भएको सर्वसाधारणले पत्तै पाएनन् ।
सेयर लगानीकर्ता कसरी ठगिन्छन् वा डुब्छन् भन्ने विषयमा हिजोआज सामाजिक सञ्जालतिर एउटा कुकुर व्यापारीको कथा खुब भाइरल भइरहेको छ ।
कथा यस्तो छ– एउटा व्यापारी आफ्नो सहयोगीसहित एउटा गाउँमा गयो र भन्यो, ‘म तपाईंहरूसँग कुकुर खरिद गर्न आएको हुँ । गाउँमा जति कुकुर छन्, म प्रतिकुकुर एक हजार रुपैयाँ दिन्छु ।’
गाउँमा कुकुरले साह्रै दुःख दिएका बेला कुकुर बिक्री गरेर कमाउन पाइने भएपछि गाउँलेले गाउँमा भएका जति सबै कुकुर ल्याए र उसलाई एक÷एक हजारमा बेचे । कुकुर कम भएपछि गाउँमा शान्ति पनि छायो ।
केही समयपछि व्यापारी फेरि त्यही गाउँ गएर भन्योे, ‘अब म प्रतिकुकुर दुई हजार रुपैयाँ दिन्छु ।’
फेरि गाउँलेले बाँकी रहेका र वल्लोपल्लो गाउँका पनि सबै कुकुर समातेर ल्याए र दुई हजारका दरले बेचे ।
फेरि, केही समयपछि व्यापारी त्यही गाउँ गयो र एउटा कुकुरको ५ हजार रुपैयाँ दिने कुरा सुनाएन मात्रै थप कुकुर खोजी गर्न भन्यो । केही समय आफू विशेष कामले सहर बाहिर जाने र आफू नआइन्जेल कामको जिम्मा आफ्नो सहयोगीलाई दिएको कुरा सुनायो । छिट्टै आफू फर्केर आउने वाचा गर्दै व्यापारी गाउँबाट बाहिरियो ।
त्यसपछि गाउँलेले व्यापारीको सहयोगीलाई भने, ‘हामीसँग भएका सबै कुकुर बेचिसक्यौं । हामीसँग अब कुकुर छैन ।’
व्यापारीको सहयोगी पनि के कम नयाँ जुक्ति फुराउँदै गाउँलेलाई भन्यो, ‘मेरो मालिकसँग भएका कुकुर ४ हजारमा किन्नुस् र मेरो मालिक आएपछि ५ हजारमा बेच्नुस् । तपाईंलाई प्रतिकुकुर एक÷एक हजार फाइदा हुन्छ ।’
सोझा गाउँलेलाई व्यापारीको सहयोगीको कुरा चित्त बुझ्यो । गाउँले सबैले आफूहरूले १ हजार र २ हजारमा बेचेका कुकुर ४÷४ हजारमा किनेनन् मात्रै कुकुर पाल्ने अभियान नै चलाए । तर, हप्ता बित्यो, महिना बित्यो र वर्ष बित्यो । गाउँमा न व्यापारी आयो, न सहयोगी नै । जता हे¥यो कुकुरमात्रै ।
हो, सेयर बजार सर्वसाधारण लगानीकर्ताका लागि ‘व्यापारीले कुकुर खरिद योजना अघि सारेजस्तै’ हो । कम्पनी र नियामक (नियामक निकाय भएको हकमा) सँग नजिक रहेका र बजारमा नाम चलेका ठूला÷पहुँचवाला लगानीकर्ताले यस्तो हुन्छ र उस्तो हुन्छ, भनेर आफन्तमार्फत कम्पनीले यति लाभांश दिन्छ, वित्तीय विवरण सार्वजनिक हुनुअघि नै कम्पनीले यस्तो प्रगति ग¥यो भनेर बजारमा हल्ला चलाउँदैनन्, सानो–सानो कित्तामा सेयर मूल्य बढाएर खरिद गर्न थाल्दछन् ।
सर्वसाधारण लगानीकर्ता त्यसैमा फस्छन् र अब मौका नआउला भनेर बजारमा जोडिन पुग्छन् । त्यति बेलासम्म ढिला भइसकेको हुन्छ । पछिल्लोपटक प्रकाशित शिवम सिमेन्टको वार्षिक वित्तीय प्रतिवेदन र ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल भएको कथा व्यापारीको कुकुर खरिद योजनासँग मिल्छ । विगतमा धेरै कम्पनीमा यस्ता घटना घटेका छन् र आगामी दिनमा यस्ता घटनाले निरन्तरता पाउनेछन् ।
वित्तीय क्षेत्रबाहेक अधिकांश कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा १० प्रतिशत हिस्सामात्रै छुट्ट्याएका हुन्छन् । धितोपत्र बोर्डले त्यसैलाई स्वीकृति दिन्छ । तर, यस्ता कम्पनीको सेयरको ‘लकिङ पिरियड’ सकिएपछि सबै सेयर सर्वसाधारणसरह हुन्छ । अर्थात्, सबै सेयर एउटै ‘क्याटागोरी’ मा पर्छ । १० प्रतिशत हिस्साको मूल्य आफ्नो नियन्त्रणमा लिएर ‘कर्नरिङ’ गर्दै एउटा उचाइमा पु¥याउने र अन्ततः आफ्नो संस्थापक हिस्सा बेच्ने प्रवृत्ति मौलाउँदो छ ।
सीमित सेयर भएपछि त्यसको मूल्य उचाल्न कुनै समस्या भएन । सीमित व्यक्ति मिलेर साधारण सेयरको मूल्य उछाल्ने र त्यही मौकामा संस्थापकले बाँकी सेयर बिक्री गर्ने प्रवृत्ति मौलाउँदो छ । नियामकका रूपमा रहेको धितोपत्र बोर्डले यसलाई हेर्न सकेको छैन र सायद त्यो सम्भव पनि छैन । जब आपूर्ति कम हुन्छ, त्यसको मूल्य धेरै हुन्छ भने आपूर्ति बढेपछि स्वाभाविक मूल्य घट्छ । आफ्नो हातबाट अधिक सेयर बाहिरिएपछि त्यो कम्पनीप्रतिको लगाव स्वाभाविक रूपमा घट्छ नै । यसले अन्ततः कम्पनी नै ‘कोल्याप्स’ चरणमा प्रवेश गर्दछ । अहिले वित्तीय क्षेत्र (नेपाल इन्फ्रास्ट्रक्चर बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी) बाहेकमा देखिएको सबैभन्दा ठूलो समस्या यही हो ।
सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ), कर्नरिङ, म्यानुुपुलेसनजस्ता अभ्यस्त शब्द हुन् । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था गरेको छ । तर, ऐनमा भएका व्यवस्थाअनुसार अभियोग पत्ता लगाउन र त्यसमा कारबाही गर्न धितोपत्र बोर्ड चुक्दा उशृङ्खल लगानीकर्ता मौलाउँदा साधारण लगानीकर्ताले ठूलो मूूल्य चुकाउनुपर्ने अवस्था आएको छ । सर्वसाधारण लगानीकर्तालाई जोगाउन कम्पनीको सञ्चालन स्थिति, सञ्चालक समिति, उच्च व्यवस्थापकका रवैया र संस्थागत सुशासन कायम भए÷नभएका विषयमा मिहिन ढंगले हेर्नेमात्र होइन, बेलाबेला कम्पनीको यथार्थ स्थिति लगानीकर्तासमक्ष राखिदिने व्यवस्था हुनुपर्छ ।
लगानीकर्ताप्रतिको जवाफदेहिता र व्यावसायिक कुशलता कायम राखेर सेयर बजारलाई सुरक्षित एवं सुव्यवस्थित गराउन स्पष्ट कानुनी संरचना र नियामकीय व्यवस्था अतिआवश्यक छ । अहिलेकै संरचना र कानुनी प्रावधानले धितोपत्र बोर्डले कम्पनीहरूको संस्थागत सुशासनमा ध्यान पु¥याउन सक्दैन । त्यसका लागि कि बोर्डलाई शक्तिशाली र दक्ष बनाउनुपर्छ, कि सम्बन्धित क्षेत्रलाई हेर्ने विशेष नियामकीय संरचना खडा गर्नुपर्छ ।
अहिले समग्र सेयर बजार हेर्न धितोपत्र बोर्ड रहे पनि क्षेत्रगतरूपमा बैंक तथा वित्तीय संस्था हेर्न नेपाल राष्ट्र बैंक, बिमा कम्पनी हेर्न बिमा समिति, टेलिकम कम्पनी हेर्न नेपाल दूरसञ्चार प्राधिकरण र जलविद्युत कम्पनी नियमन गर्न विद्युत नियमन आयोग क्रियाशील छन् । यद्यपि, पछिल्लो समय विद्युत नियमन आयोगको भूमिका र जलविद्युत कम्पनीका संस्थागत सुशासनमा बढी प्रश्न उठ्ने गरेको छ । त्यसो त जनस्तरसँगै सरोकार राख्ने वित्तीय क्षेत्रको नियामकीय व्यवस्थापनबारे पटक–पटक प्रश्न नउठेका भने होइनन् ।
संस्थापक र व्यवस्थापकको मनमौजीमा प्रतिस्पर्धात्मक क्षमताको गलत अनुमान लगाउने होडमा कम्पनीहरू रमाउने गरेको मात्रै देखिँदैन, ठूलो बन्ने होडमा जोखिम व्यवस्थापन ख्याल गरेको समेत पाईंदैन । जसको सिकार सामान्य लगानीकर्ता हुने गरेका छन् । आधारभूत पक्ष कमजोर हुँदाहुँदै त्यस्ता कम्पनीले सट्टेबाजी र कर्नरिङको मद्दतबाट मूल्यलाई उचाइमा टिकाइराख्ने दाउपेच चालिरहेको पाइन्छ । जसले गर्दा मौका पाउनासाथ ठूला र संस्थापक लगानीकर्ता बाहिरिने र रित्तो कम्पनी सर्वसाधारणको हातमा पर्ने स्थिति नआउला भन्न सकिन्न ।
कनर्रिङको चेपुवामा परेका गोर्खाज् फाइनान्स, चन्द्रागिरि हिल्स, इमर्जिङ नेपाललगायत कयौं कम्पनीको मूल्यले विगतमा समाएको उचाई त्यसैको परिणाम हो । सामान्य हैसियत नभएका कम्पनीको सेयर मूल्य उछालिएको थियो । अवास्तविक व्यावसायिक वृद्धिको सहायतामा लगानीकर्ताबाट पुँजी उठाएर भविष्यमा कम्पनीलाई बेहिसाब छाडिदिने नियत कतिपय कम्पनीका संस्थापक लगानीकर्तामा रहेको तथ्य कसैबाट लुकेको छैन ।
त्यसो त सेयर बजार सबैका लागि होइन भन्ने एकथरी ठूला र सम्भ्रान्त कहलिएका लगानीकर्ता छन् । जसले साना लगानीकर्तालाई १० कित्तेको उपमा मात्रै दिँदैनन्, हुने÷नहुने सबै वर्गले सेयर बजारमा खेल्न नसक्ने बताउँछन् । सेयर बजारलाई सीमितको नभई सम्पूर्णको बनाउन सरकारीस्तरबाटै व्यापक नीति निर्माण र कार्यान्वयनमा तदारुकता हुनुु आवश्यक छ । बजारमा सिधासिधी लुट्ने ठाउँ दिएपछि हुनेखानेको मनोबल बढ्नुु स्वाभाविक हो ।
वास्तवमा भन्ने हो भने सेयर बजार साना लगानीकर्ताका लागि हो । ठूला÷धेरै लगानी भएकाहरू त कम्पनी खोलेर उद्योग चलाउन, ठुल्ठूला व्यापार गर्न सक्छन् । तर, नेपालमा त तिनै ठूला भनिएका लगानीकर्ता सर्वसाधारणलाई भनेर जारी गरिएको सेयरमा आँखा लगाएर अझ सबैका लागि बजार होइन भन्दै बसिरहेका छन् । छरिएर रहेको पैसा एकीकृत गर्न जारी गरिने सेयर तिनै हुने÷खानेले एकलौटी गर्ने भए सेयर बजारबाट पैसा उठाउने भनेर किन सर्वसाधारण जनताको पैसामाथि खेलबाड गर्ने ? सेयर बजारलाई पुँजी संकलनको माध्यम बनाउने कि खेलबाड गर्ने क्षेत्र बनाउने ? सबैको ध्यान केन्द्रित गर्नुपर्ने बेला भइसकेको छ ।