चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध
सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् ।
त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मंगलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैंमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैं कष्टकर बनेको छ ।
बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध
गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।
वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।
दसैँको दुईदिन अघिदेखि भइरहेको अविरल वर्षा नरोकिँदा दसैँ खल्लो भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाएका छन् । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताए ।
त्यसैगरी राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ ।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य भएका छन् । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिए। बेनी–जोमसोम सडक खण्डको शाखा नदीको बाहव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
दसैंका बेलामा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैं पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटक बीच सडकमै अलपत्र परेको सडक कार्यालयका सुपरभाइजर शेरचनले बताउनुभयो । यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बीचबीचमा अवरुद्ध भएको छ ।
करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध
अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ ।
राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ-ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ ।
दसैंका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् । जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्याउन नपाएको गुनासो गरे । रासस