काठमाडौं । शंकर र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित ऋद्धिसिद्धी सिमेन्टस् प्राइभेट लिमिटेडको व्यापारमा चमक आएको छ । सन् २०२१ मा ऋद्धिसिद्धीले सिमेन्ट र कच्चावस्तु क्लिङकर उत्पादन तथा बिक्रीबाट ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
यस्तै २०२० मा उद्योगले १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको मात्र सिमेन्ट तथा क्लिङकरको व्यापार गरेको थियो । सन् २०२० को तुलनामा २०२१ मा ऋद्धिसिद्धीको सञ्चालन आम्दानी २५५ प्रतिशतले बढेको छ ।
एक वर्षको अवधिमा उद्योगले ४ अर्ब ५७ करोड ७० लाख रुपैयाँ आम्दानी बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । उद्योगले सन २०२२ मा २८ प्रतिशत उत्पादन बढाएको छ ।
उद्योगले सन २०१९ को अन्तिमदेखि सिमेन्ट र क्लिङकरको आंशिक उत्पादन थालेको हो । तर, २०२१ देखि मात्र उद्योगले पूर्ण क्षमतामा सिमेन्ट र क्लिङकर उत्पादन सुरु गरेको हो ।
त्यही भएर उद्योगको सञ्चालन आम्दानी बढ्न पुगेको हो । बजारमा तीव्र प्रतिस्वपर्धाको बाबजुद उद्योगले यसबीचमा उद्योगले स्वस्थ्य आम्दानी र मार्जिन कायम राख्न सफल भएको छ । उद्योगसँग अहिले दुईवटा खानी रहेका छन । एउटा खानी कारखानबाट ३३ र अर्को ५५ किलोमिटर टाढा रहेको छ ।
उद्योग रक्सौल सीमा भन्दा ५५ किलोमिटर मात्र दुरीमा रहेकाले भारतलगायत तेस्रो मुलुकबाट कच्चा वस्तु आयातमा ढुवानी लागत कम हुने गरेको छ ।
उद्योगको आफ्ने खानी भएको र त्यहाँबाट उत्पादन हुने चुनढुँगालगायत खानीजन्य लागत कम भएकाले अपरेटिङ मार्जिन २६ प्रतिशत रहेको छ ।
शंकर र अम्बे ग्रुपले सन् २०१३ मा ऋद्धिसिद्धी सिमेन्टको स्थापना गरेका हुन । उद्योगले सिमेन्ट र क्लिङकर दुबै उत्पादन गर्दै आएको छ । ग्रान्डिङ र क्लिङकर गरी उद्योगको उत्पादन क्षमता दैनिक २ हजार ७६० टन रहेको छ ।
उद्योगले अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पीएसी) सिमेन्ट ऋद्धिसिद्धी र मकवानपुरको ब्राण्डमा उत्पादन तथा बिक्री वितरण गर्र्दै आएको छ ।
उद्योगले कुल उत्पादनको आधा क्लिङकर अन्य स्थानीय उद्योगलाई बिक्री गर्दै आएको छ । उद्योगले १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । उद्योग मकवानपुरको रातोमाटेमा रहेको छ ।
नेपालमा अहिले ६० वटा सिमेन्ट उत्पादक र २० वटा क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन । अझै केही उद्योगहरु पाइपलाइनमा रहेका छन ।