काठमाडौं । नागार्जुन नगरपालिका–१० स्युचाटारस्थित स्युचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
असोज १० गते सोमबार साकोसका अध्यक्ष शाधुराम गौतमको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन प्रमुख अतिथि नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले गरेका थिए ।
२०६३ साल असोज ७ गते घटस्थापनाको दिन स्थापना भएको उक्त साकोसले प्रत्येक वर्ष स्थापनादिवसका दिननै वार्षिक साधारणसभा गर्दै आइरहेको जनाएको छ ।
सभामा साकोसका अध्यक्ष साधुराम गौतमले आव २०७९/८० को अनुमानित आय व्यव विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णप्रसाद लामिछानेले आव ०७८/७९को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ५ हजार सेयर सदस्य छन् । साकोसको कुल कारोबार ८३ करोड रूपैयाँभन्दा बढीको रहेको छ ।
साकोसको ८ करोड ८४ लाख ४० हजार रूपैयाँ सेयर पुँजी, ६२ करोड ८१ लाख १२ हजार रूपैयाँ बचत संकलन गरी करिब ६२ करोड रूपैयाँ ऋण लगानी रहेको साकोसले जनाएको छ ।
साकोसको १६औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनले ४ वर्षका लागि रामेश्वरप्रसाद गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र कृष्णप्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा धनञ्जय शर्मा, सचिव कृष्णहरि खत्री, कोषाध्यक्ष बन्दना थापा खड्का र सदस्यहरुमा भाईराम थापा, बैकुण्ठ पराजुली, किरण गिरी, विद्या खड्का गुरुङ, दुर्गा खत्री भट्टराई, कृष्णहरि खड्का, माधव खतिवडा चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद लामिछाने र सदस्यहरुमा घनश्याम गौतम र राजेश्वर लुईटेल चयन भएका छन् ।