काठमाडौं । मारुती सुजुकीको सानो ह्याचब्याक अर्थात् मिनी एसयूभी मारुती सुजुकी ‘एस प्रेस्रो’ भारतीय बजारमा सार्वजनिक भएको छ । आजै सार्वजनिक भएको नयाँ मोडेलले रेनाल्टको क्विड र ड्याटसनको रेडी गोसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
बीएस ६ मापदण्डमा आधारित रहेर निर्माण गरिएको यो गाडीको लुक्स मारुती सुजुकीको अल्टो के १० जस्तै छ । ९९८ सीसीको गाडीमा तीन सिलिण्डरको पेट्रोल इंजिन छ । यसले ५५ सय आरपीएममा ६७ बीएचपी पावर र ३५ सय आरपीएममा ९० एनएम टर्क दिन्छ । यसमा पाँच स्पिड मेन्योल गियरबक्स, मारुतीको अटो गियर सिफ्ट तथा अटोमेटेड मेनुअल ट्रान्समिसन युनिट रहेको छ ।
यो गाडी चारओटा भेरियन्ट एसटीडी, एलएक्सआई, भीएक्सआई, भीएक्सआई प्लसमा उपलब्ध छन् । भारतमा यसको इन्ट्रडक्टरी मूल्य क्रमशः तीन लाख ६९ हजार, चार लाख ५ हजार, चार लाख २४ हजार पाँच सय र चार लाख ६७ हजार पाँचसय रहेको छ ।
यसमा ड्योल एयरब्याग्स, एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्यूसन तथा रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षा फिचर्सहरु रहेका छन् । यसबाहेक एस प्रेसोको उच्च स्तरको भेरियन्टमा सात इन्चको स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यसमा अलोय ह्वील राखिएको छ ।
यो गाडी पाँचौं जेनेरेसनको हियरटेक्ट ‘के’ प्लेटफर्ममा निर्माण भएको हो । यसको टर्निङ रेडियस ४.५ मिटरको रहेको छ । प्रतिलिटर २३.९५ किलोमिटरको माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसको एक्सटेरियर डिजाइन तथा स्टाइलिस लुक्सले यूवा वर्गका ग्राहकहरु आकर्षित गर्ने बताइएको छ ।
छ ओटा रंगहरुमा उपलब्ध एस प्रेसो मारुती सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटरकर्पले नेपालमा भने दशैं तिहारको बीचमा ल्याउने जानकारी दिएको छ ।