बिदा भन्ने बित्तिकै धेरैको सोच हुन्छ, अब कतै घुम्न निस्किने। पछिल्लो समय आन्तरिक पर्यटन गन्तव्य घुम्न जाने नेपाली बढ्दैछन्। पारिवारिक होस् वा साथीभाइबीच। समय मिल्नासाथ कहीँ न कहीँ घुम्न निस्किहाल्छन्। त्यसमाथि दसैं र तिहारमा लामो बिदा हुने भएकाले पनि धेरैले घुम्न जाने योजना बनाएका हुन्छन्। चाडपर्व बीच घुम्न जानेलाई यी ६ गन्तव्य उत्कृष्ट हुनसक्छन् :
जिरी
स्विजरल्यान्डको जुरिच सहरसँग तुलना गरिँदै आएको जिरी दोलखाको एक मनोरम पर्यटन गन्तव्य होे। विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्वारका रूपमा समेत कुनै समय परिचित जिरी आन्तरिक एवं वाह्य पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो। विषेशगरी जिरेल समुदायको बाहुल्य रहेको जिरी पुग्ने जो कोही त्यहाँको प्राकृतिक सुन्दरताले मन लोभ्याउने गर्छ।
राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी पुग्न बसमा ६ घन्टा यात्रा गर्नुपर्छ। तामाकोशीको सुसेलीसँगै, चारैतिर हरियाली, सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमंग जगाउँछ। त्यहाँका धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ। त्यहाँ उत्पादित अर्थोडक्स चिया प्रख्यात छ।
स्थानीयस्तरमा उत्पादित चीजले राम्रो बजार लिएको छ। जर्मन र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो। जिरेल जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन्। विद्यालय र कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ रुचाउनेका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ।
जिरी काठमाडौंबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विजरल्यान्ड सरकारले जिरीको भूबनोट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ। २०१४ सालदेखि स्विस सरकारको सहयोगमा जिरी बहुउद्देशीय विकास परियोजना सुरु भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गररिहेको छ। स्विस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय छन। स्वीस सरकारको सहयोगमा वृक्षारोपण भएपछि त्यहाँका सबै डाँडा सल्लाका रुखले हरिया छन्।
दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर तथा कार्यालुङ हिमालको काखमा छ दूधकुण्ड ताल। समुद्र सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको दूधकुण्ड दसवै हिमालबाट आएको पानी जमेर बनेको हो। हिन्दु, किराँती तथा बौद्ध धर्मावलम्बी सबैले आस्थाको धरोहर मानेको यो स्थानको धार्मिक महत्व पनि छ। रमणीय विशाल ताल, सुन्दर दुई हिमाल नजिकैबाट नियाल्न सकिने दूधकुण्ड मुलुकका सुन्दर गन्तव्यमध्ये पर्छ। सदरमुकाम सल्लेरीबाट झन्डै २० कोश दुरीमा रहेको दूधकुण्ड पुग्न पैदल यात्रा नै गर्नुपर्छ।
काठमाडौंदेखि सोलुखुम्बुसम्म पक्की सडक निर्माण भइसकेको छ। बिपी राजमार्ग खुर्कोटबाट सिद्धिचरण राजमार्ग हुँदै सल्लेरीसम्म बस, जिप तथा मोटरसाइकलबाट करिब १० घन्टामा पुग्न सकिन्छ। हवाई मार्गबाट आउँदा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ४५ मिनेट उडेर सदरमुकाम नजिकको फाप्लु विमानस्थल पुगिन्छ।
पैदल भने फाप्लु, चिवाङ, फेरा हुँदै करिब चार घन्टामा रिङ्मु पुग्न सकिन्छ। गाडीबाट हो भने एक घन्टामा पुग्न सकिन्छ। रिङ्मुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्न स्वदेशी तथा विदेशी पर्यटकलाई उपयुक्त हुने खालका लज तथा होटल प्रशस्तै छन्। दूधकुण्ड क्षेत्रमा दूधकुण्ड ताल, भूतपोखरी, गंगाजमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ।
नगरकोट
नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो। त्यहाँबाट हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ। काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ। समुद्र सतहबाट २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुन्छ। मौसम खुलेका बेला त्यहाँबाट सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य समेत हेर्न सकिन्छ।
त्यसैगरी धौलागिरी हिमशृंखलादेखि कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरिशंकर, चोयु, ल्होत्से, मकालु हिमाल लगायत देख्न सकिन्छ। नगरकोट क्षेत्र सूर्याेदय दृष्यावलोकनका लागि प्रसिद्ध छ।
त्यस्तै काभ्रेपलाञ्चोकमा अवस्थित एक सुन्दर गाँउ बल्थली नेपालको मध्य क्षेत्रमा रहेको अर्को रमणीय पर्यटकीय स्थल हो। काठमाडौं उपत्यकाबाट ४० किमी टाढा रहेको यो गाँउ सांस्कृतिक र प्राकृतिक रूपमा धनी गाउँ हो।
बन्दिपुर
तनहुँमा रहेको पर्यटकीय स्थल बन्दिपुर नेवारी कला र संस्कृतिका लागी प्रसिद्ध छ। गण्डकी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका वरिपरि डाँडा हाइकिङका दृष्टिले उपयुक्त मानिन्छन्। बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ।
पोखरामा रहेका कम्पनीले बन्दिपुरको प्याराग्लाइडिङ व्यवस्थापन गरेका छन्। सेती नदीमा ¥याफ्टिङ गर्न दमौली आउनेले पनि बन्दिपुरमा एक दिन बास बस्ने गरेका छन्। १ हजार १ सय ५० मिटर उचाइमा रहेका भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडर तल फाल हाल्ने गर्छन्।
पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो। मुग्लिङबाट आधा घन्टा गाडीमा गएपछि पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ। त्याहाबाट थप आधा घन्टामा बन्दिपुर बजार पुगीन्छ।
शे फोक्सुन्डो ताल
कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो शे फोक्सुण्डो ताल। डोल्पा जिल्लामा रहेको यो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र नै छ। शे फोक्सुन्डो ताल समुद्र सतहबाट ३ हजार ९ सय मिटर उचाइमा छ। यो नेपालको सबैभन्दा गहिरो तालका रूपमा समेत प्रसिद्ध छ।
शे फोक्सुण्डो तालको लम्बाइ ४.८ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराइ ६ सय ५० मिटर छ। नेपालगन्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घन्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ। दुनैबाट पैदलयात्रा गरी शे फोक्सुन्डो पुग्न सकिन्छ। ताल वरपर गुम्बा र बस्ती छन।
पुनहिल
पदयात्राप्रेमीले एक उत्कृष्ट गन्तव्यका रूपमा पुनहिललाई लिने गर्छन्। अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी–पुनहिल क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधारसमेत बनेको छ। म्याग्दी भ्रमण गर्ने ९० प्रतिशत घोडेपानी–पुनहिल क्षेत्र पुग्ने गर्छन्।
समुद्र सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल चारैतिरबाट गुराँस जंगलले घेरिीएको पहाडको टाकुरामा छ। त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथीलगायत हिमचुचुरा नजिकबाट नियाल्न सकिन्छ। सहरी कोलाहल र प्रदुषित वातावरणदेखि टाढा रहेको पुनहिल पुग्दा उमंगको अनुभव हुन्छ।
नेपालमा पाइने ३२ प्रजातीमध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत आठ प्रकारका गुराँस पाइन्छन्। पोखरादेखि पुनहिल र पुनः पोखरा फर्कन पाँच दिनको समय छट्ट्याउनु उपयुक्त हुन्छ।
(नेपाल पर्यटन बोर्डले पहिचान गरी घुम्न सिफारिस गरेको आधारमा तयार पारिएको गन्तव्य सूची)