काठमाडाैं। नर्भिक इन्टरनेसनल अस्पतालले ‘नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी’ प्रति आकर्षण बढेको जनाएको छ।
नर्भिकका अनुसार यो नेपालकै पहिलो र एकमात्र आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय आकर्षण बढ्न थालेको हो।
प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठले एनएबिएलले तोकिएको मापदण्डअनुसार गुणस्तर कायम गरेका कारण सम्बद्ध सबैको मन जित्न सफल भएको बताए।
‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन्। अन्यमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ,’ डा. श्रेष्ठले भने, ‘हामीसँग पाँच प्याथोलोजिस्ट, एक माइक्रोबायोलोजिस्टसहित ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बि क्याटागोरी’ मा देशकै नमुना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ।’
डा. श्रेष्ठका अनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधामध्ये पाँच स्पेसल टेस्टले पनि आइएसओ सर्टिफिकेट पाएका छन्। ‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजीजस्ता सेवामा हामी आइएसओ सर्टिफाइड हौं,’ उनले भने।
गुणस्तर कायम गरेकै कारण नर्भिक प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेको उनले जानकारी दिए। ‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरूले सायदै गरेका होलान्। यही कारण हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ। सेवाग्राहीको फिडब्याक पनि राम्रो छ,’ उनले भने।
नियामकले तोकेका र एनएबिएलका मापदण्डसमेत पूरा गर्दै गएका कारण गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति पाँच वर्षका लागि पुनः नवीकरण गरिदिएको नर्भिकले जनाएको छ।