काठमाडौं। चाडबाड नजिकिएसँगै बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्नु स्वाभाविक हो। अझ दसैं, तिहारजस्ता महत्वपूर्ण चाडमा खाद्यान्न खपत र लत्ताकपडा प्रयोग बढ्ने गर्छ।
यसपालि पनि काठमाडौं उपत्यकाका बजारमा चहलपहल बढिरहेको छ। तर, व्यवसायी भने गत वर्षजस्तो व्यापार नभएको बताइरहेका छन्। कोरोना संक्रमण क्रमशः घट्दो क्रममा रहेका बेला लत्ताकपडा व्यवसायी भने चाडबाडको रौनक धेरै नदेखिएको बताउँछन्।
मल र ठूला पसलमा ग्राहक चाप धेरै नभएको व्यवसायीको भनाइ छ। तर, सामान्य पसलमा देखिने ग्राहक भीडले दसैं रौनकमा खासै कमी नभएको प्रष्ट हुन्छ।
मल वा साना सबै व्यवसायीले सामानमा आकर्षक छुट योजना सार्वजनिक गरिरहेको देख्न सकिन्छ। विषेशगरी दसैं–तिहार नजिकिएसँगै व्यवसायीले ग्राहकलाई सामानमा छुट प्रलोभन किन देखाउँछन्?
यसबारे व्यवसायीसँग एउटै जवाफ हुन्छ– ‘जाडो मौसम सुरु हुन लागेकाले गर्मीका लुगा छिट्टै बेच्न, दुई/तीन वर्ष पहिलादेखिका पुराना कपडा बेचर नयाँ कपडा राख्न, कपडाको डिजाइन छिटोछिटो परिवर्तन हुने भएकाले पनि अफर ल्याउनुपरेको हो।’
दरबारमार्गस्थित राइजिङ मलमा रहेको ‘कटन किड्स’ ले दसैं लागेसँगै २० देखि ३० प्रतिशतसम्म छुटमा सामान बेच्न सुरु गरेको छ। अन्य समयमा छुट तथा अन्य उपहार नराखिने किड्सकी प्रबन्धक ज्योति कार्की बताउँछिन्।
उनको पसलमा बच्चाका लागि आवश्यक जुत्ता, कपडा पाइन्छ। ‘पाँच हजारसम्मको सामान किन्नेलाई उपहारमा चस्मा दिन्छौं,’ उनले भनिन्, ‘छुट चाहिँ पुरानो सामानमा मात्रै छ, नयाँ सामानमा छैन। दसैं विशेष योजना हो हाम्रो।’
यस्ता योजना सार्वजनिक गर्नु व्यवसायीको बाध्यता रहेको उनको भनाइ छ। बजारमा कपडाको फेसन र डिजाइन तथा ग्राहकको रोजाइ परिवर्तन भइरहने हुँदा एउटै डिजाइनका लुगाले व्यवसाय सञ्चालन गर्न समस्या हुन्छ।
‘पुरानो डिजाइनको लुगा हटाउनुपर्छ, गर्मी सकिँदैछ त्यसलाई पनि ख्याल गर्नुपर्छ,’ कार्कीले क्यापिटल नेपालसँग भनिन् ‘सँगै ग्राहकलाई पनि दसैंमा खुसी दिन हामीले यो अफर राखेका हौं।’
त्यसैगरी यो वर्ष चिनियाँ नाकाबाट सामान आयात गर्न सहज नहुँदा पनि पुराना लुगा बढी बिक्री भइरहेको उनको भनाइ छ। एक महिना पहिले गरेको अर्डर आइपुगेको छ। तर, पर्याप्त मात्रामा नयाँ लुगा नेपाल नभित्रिएकाले पनि यसपालि दसैंमा पहिलेदेखिको ‘स्टक’ लुगा बिक्री हुने क्रम बढेको व्यवसायी बताउँछन्।
काठमाडौं तीनधारको ‘ट्रेडमार्क’ मा पनि दसैं लक्षित छुट योजना चलिरहेको छ। उक्त पसलका सामानमा २० देखि ५० प्रतिशतसम्म छुट पाइन्छ। जुत्ता, चप्पल र कपडा पाइने ट्रेडमार्कमा कोरोना संक्रमण भएदेखि व्यवसाय राम्रो नभएको सञ्चालक बताउँछन्। ट्रेडमार्कका सञ्चालक बचनध्वज जोशी पनि अघिल्लो वर्षका लुगा छुटमा बेच्न राखेको बताउँछन्।
‘कोरोना संक्रमणभन्दा पहिले दसैंमा दैनिक डेढ–दुई लाखको कारोबार हुन्थ्यो,’ उनले भने, ‘तर, दुई/तीन वर्ष भयो खासै राम्रो छैन। यसपालि कोरोना घटे पनि व्यापार बढेको छैन।’
पसलमा बस्दा सामाजिक सञ्जालमा व्यस्त देखिएका जोशी पहिले व्यापारीलाई खाजा खाने फुर्सद नहुनेमा पछिल्ला वर्ष टिकटक बनाएर बस्ने फुर्सद भएको बताउँछन्।
लामो समयदेखि व्यवसाय राम्रो नहुँदा नयाँ सामान अर्डर गर्न नपाएको उनको भनाइ छ। ‘कोरोनादेखि व्यापार राम्रो छैन, नयाँ लुगा अर्डर गर्ने पैसा पनि छैन। त्यही भएर पहिलेका लुगा बेचिरहेका छौं,,’ जोशी भन्छन्।
उता, न्यूरोड गेट छेउमै रहेको एक पसलमा भने ग्राहक चाप अत्यधिक देख्न सकिन्छ। व्यवसायीहरू कपडाको मूल्यमा ‘सेल’ लगाएर सामान बेच्न व्यस्त छन्। उनीहरूले प्रतिशतमा छुट नदिए पनि सामान्य समय र पसलमा भन्दा भारी छुटमा कपडा बेचिरहेको देखिन्छ।
आफ्नो नाम भन्न र व्यवसायको विषयमा बोल्न पनि उनीहरूलाई फुर्सद छैन। ‘नयाँ डिजाइन बजारमा आउँछ, जाडो लाग्न लाग्यो त्यसैले पनि सस्तोमा सामान दिइरहेका छौं,’ एक व्यवसायी भन्छन्।