काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ५ वर्ष पूरा गरी पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्र गतिमा अगाडि बढेको बताएको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा मेगा क्यापिटलले २४.५ प्रतिशत वितरणयोग्य नाफा गरेको छ । कम्पनीले हालसम्म करिब १ लाख ८० हजार डिम्याट खाता खोलेको र लगानी व्यवस्थापन सेवामा ३ सय ५८ जना सेवाग्राहीबाट करिब ६८ करोड रुपैयाँको पोटफोलियो व्यवस्थापन गर्दै आएको जानकारी दिएको छ ।
‘संस्थागत परामर्शदाता (कर्पोरेट एड्भाइजरी) सेवाको रुपमा सेवाग्राही तथा आवद्ध लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ क्षेत्रमा नँया आयाम थपेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, नयाँ कामको रूपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजीकरणको कार्य पनि उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । क्यापिटलले विभिन्न कम्पनीहरूसँग आईपीओ जारी गर्ने र अन्डरराइटिङ सम्झौता पनि गर्ने गरेको छ ।
अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीति अनुरूप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाडाैं उपत्यका बाहिर पोखरा, बुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने योजना रहेको क्यापिटलले जानकारी दिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सविर बादे श्रेष्ठले सम्हालिरहेका छन् ।