काठमाडौं । विश्व बैंक समूहको सदस्य (आईएफसी)ले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा ग्लोबल आईएमई बैंक लिमिटेडलाई दिने भएको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो । सो कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन तथा ट्रेड फाइनान्स लिमिटेड पूर्ति गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
यस कार्यक्रममा रहेको “हरित“ कम्पोनेन्ट बैंकको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असरलाई समेत सम्बोधन गर्छ । यो कार्यक्रमले ग्लोबल आइएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ ।
साे कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरुका ग्राहकहरुबीच नयाँ सम्बन्धहरु विस्तार गर्न सहयोग गर्नेछ ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए। उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवादसमेत दिएका छन् ।
ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नका लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।