काठमाडौं। खेतान समूहको गोरखा ब्रुअरीका उत्पादन कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगेल ब्रान्डका बियरमा प्रशोधित जौ (माल्ट) का मात्राभन्दा कनिका धेरै भेटिए पनि ‘गुणस्तरहीन’ बियर बजार पठाइरहेको छ।
गोरखा ब्रुअरीमा डेनमार्कको बियर उत्पादक काल्र्सबर्ग र खेतान समूहको संयुक्त लगानी छ।
गोरखाका नेपाली उत्पादन कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगेल बियरमा माल्टको मात्राभन्दा कनिका धेरै भेटिएको प्रमाणित भएको थियो। तर, आन्तरिक राजस्व विभागले गुणस्तरका विषयमा गोरखा ब्रुअरीलाई कारबाही नगर्दा उसले पुनः गुणस्तर कायम नगरी भटाभट बजारमा बियर पठाइरहेको छ।
एक वर्षअघि गोरखा ब्रुअरीले अत्यधिक परिमाणमा कनिका मिसाएर बियर उत्पादन गरेको प्रमाणित भएपछि विभागले अन्तःशुल्कमात्र वृद्धि गरिदिएको थियो।
त्यसबेला ‘केही रकम’ तिरेर उम्केको कम्पनीले अहिले फेरि गुणस्तर कायम नगरी बजारमा बियर पठाइरहेको उपभोक्ता हित अधिकार मञ्चका अध्यक्ष ज्योति बानियाँले जानकारी दिए।
विभागले एक वर्षअघिको लापरबाहीमा ठोस कारबाही नगर्दा गोरखा बु्रअरीका उत्पादनका विषयमा अहिले फेरि उपभोक्ता मञ्च र विभाग दुवैमा उजुरी परेको बानियाँले बताए।
‘विभागअन्तर्गतको गुणस्तर अनुगमन समितिमा उपभोक्ता अधिकार मञ्चका तर्फबाट पनि प्रतिनिधित्व छ, तर विभागले ठूलो कम्पनी भन्दै लापरबाहीमा पनि कारबाही गरेको छैन,’ बानियाँले क्यापिटल नेपालसँग भने।
माल्टको मात्रा बढी हुनुपर्नेमा ‘लोकल’ (स्थानीय) रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको प्रमाणित भएपछि विभागले एक वर्षअघि बियरको मान्यतासमेत दिएको थिएन। पछि थोरै जरिवाना तिरेर अरू अन्तःशुल्क तिरेको भन्दै गोरखा ब्रुअरी कारबाहीबाट उम्किन सफल भएको थियो।
‘गोरखा ब्रुअरीका बियरमा देखिएको गुणस्तरका विषयलाई कारबाही गर्नुको सट्टा उल्टै राजस्व र करका नाममा ओझेलमा पारिएको छ,’ उपभोक्ता मञ्चका अध्यक्ष बानियाँले भने।
बियरको ‘रेसिपी’ मा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरह अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको थियो।
‘गत वर्ष पनि चाडपर्वको मौका छोपेर गोरखा ब्रुअरीले यस्तै गरेको थियो, अहिले पनि केही नमुना बोतल परीक्षण गर्दा गुणस्तर नभएको प्रमाणित भएको छ,’ विभागका एक अधिकृतले क्यापिटल नेपालसँग भने, ‘गोरखा ब्रुअरी राजस्व तिर्ने ठूलो कम्पनी हो अहिले केही नगर्नू भन्ने माथिबाट आदेश आएको छ। पहिला कारबाही नहुँदा पटकपटक कम्पनीले खेलबाड गर्दै आएको छ।’
आन्तरिक राजस्व विभागले गोरखा ब्रुअरीका उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा भन्सार विभागसँग मिलेर निर्णय लिर्नुपर्ने थियो। तर, भन्सारले एक वर्षसम्म राय नदिएका कारण कारबाही हुन नसकेको आन्तरिक राजस्व विभागका एक अधिकारीले जानकारी दिए।
विभागले गोरखा ब्रुअरी, माउन्ट एभरेस्ट, हिमालयन, यती, शेर्पा, सिजी, नेपाल, टाइगर, याक, राजका उत्पादनमा गुणस्तर परीक्षण गरेको थियो।
अरू नौ कम्पनीका उत्पादन ठिक भए पनि गोरखा बु्रअरीका बियरमा आवश्यक पर्ने माल्टको मात्रा थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको प्रमाणित भएपछि विभागले अनुसन्धान सुरु गरेको थियो।
यस विषयमा गोरखा ब्रुअरीका साझेदार चन्द्रप्रकार (सिपी) खेतानसँग फोन सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन्। उनी अहिले अमेरिकामा छन्।