काठमाडौं । दशकअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको आधा काम अर्थात ५० प्रतिशत पनि भौतिक प्रगति हुन सकेको छैन् ।
आर्थिक वर्ष २०६५/०६६ मा निर्माण अघि बढेको आयोजनाले हालसम्म ४५ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । सडक निर्माणको ‘एलाइनमेन्ट’ परिवर्तन, वन, जग्गालगायतका समस्याले आयोजनामा केही वर्ष प्रगति हुन नसकेको आयोजनाका प्रमुख दिपक केसीले बताए ।
विभिन्न योजना र खण्डमा सडक निर्माण गर्नुपर्ने र निर्माण सामग्रीको अभावलगायतका कारणले आयोजना केही लम्बिएको उनको भनाइ छ । कुल १८७९ किमी सडकमध्ये हालसम्म झन्डै ८०० किमी सडक कालोपत्रे भएको छ । १३३ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ७० ओटा पुल निर्माण भइसकेको आयोजनाले जनाएको छ । बाँकी पुल निर्माणका लागि टेन्डर गर्ने प्रक्रिया अघि बढेको छ ।
चालू आव २०७५/०७६ मा १६० किमी सडक कालोपत्रे गर्ने लक्ष्यमा १३० किमी कालोपत्रे र १६ पुल बनाउने लक्ष्यमध्ये १३ पुल बनिसकेको आयोजनाका सूचना अधिकारी नारायण पौडेलले बताए । उनले चालू आवमा ८० प्रतिशतभन्दा बढी भौतिक र वित्तीय प्रगति हासिल गरेको बताए ।
चालू आवमा कुल ५ अर्ब ५० करोड र ७ अर्ब थप विनियोजन भएर कुल १२ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये हालसम्म आयोजना निर्मााण्मा ९ अर्ब रुपैयाँ खर्च भइसकेको पौडेलले बताए । अझैपनि काम गरेबापतको भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
चालू आवमा आयोजनाअन्र्तग ३५० किमी कालोपत्रे र अन्य आयोजनाबाट साढे ४ सय किलोमिटर सडक गरी कुल ८०० किमी सडक कालोपत्रे भइसकेको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय अन्तर्गत ५ ओटा आयोजना कार्यालयमार्फत सडक निर्माण र विस्तारको काम भइरहेको छ ।
आयोजना निर्माणको ढिलाइले लागत बढेको सूचना अधिकारी पौडेलको तर्क छ । ‘सुरुआती लागत अनुमान ३६ अर्ब हो । आयोजना कार्यान्वयनको समस्याले लागत दोब्बरभन्दा बढी बढ्न पुग्यो’ उनले भने, ‘अहिले शंसोधित लागत अनुमान ८६ अर्ब रुपैयाँसम्म पुग्ने आंकलन गरेका छाँं ।’ हालसम्म ३४ अर्ब रुपैयाँ आयोजनामा खर्च भइसकेको उनको भनाइ छ ।
आव २००७८/०७९ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । निर्माणको गतिशिलता, वन, जग्गा, निर्माण सामग्री अभावलगायतका समस्या नटुङ्गिएसम्म आयोजना निर्धारित समयमै सम्पन्न गर्न चुनाति हुने आयोजनाका एक अधिकारीले बताए ।