काठमाडाैं। लुम्बिनीमा थन्किएका विद्युतीय बस भाेलि बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्। गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएसँगै बसहरू सञ्चालनमा आउनले भएका हुन् ।
पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको सवारीसाधन विगत तीन वर्षदेखि थन्किरहेको थियो। गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बस सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।
निर्देशनलगत्तै आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँच वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। थन्किएका बस निःशुुल्करुपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुुग्ने विश्वास लिइएको उनले बताए। भोलि बिहीबार बिहान ८ बजेदेखि लुम्बिनी बसपार्कबाट ती बस सञ्चालन हुने उनले बताए।
तत्काललाई बेलहियाबाट गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए। कोषले सबै विद्युतीय बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ ।
मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैंको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए। १२ करोडका पाँच बस र १४ रूपैयाँ भ्यान (ट्याक्सी) एडिबीले तीन वर्ष अघि दिएको थियो ।
अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन्। गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेशन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै १४ करोड रूपैयाँमा निर्माण गरिएको उक्त प्लाण्टबाट ५४ लाख रूपैयाँ मूल्यको विद्युत्समेत खेर गइरहेको छ ।
गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थिय। विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कमगर्न पनि विद्युतीय गाडी अनुदान दिएको थिया।