काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दैनिक १० हजार किलोमिटर सडक मर्मत गर्दै आएको जनाएको छ।
मुलुकभरि निर्माण भएका विभिन्न राजमार्गमा दिनहुँमर्मत हुने गरेको मन्त्रालयको भनाइ छ। सडक मर्मत गर्न दैनिक २ हजार ६ सय कर्मचारी परिचालन हुने भौतिक मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल बताउँछन्।
‘देशभरि २६ सय कर्मचारी परिचालन गरेर दैनिक १० हजार किलोमिटर सडक मर्मत हुँदै आएको छ,’ सचिव सिग्देलले भने, ‘उनीहरूले सडक किनारामा उम्रिएको झार उखल्नेदेखि पहिरो पन्छाउनेसम्मका काम गर्छन्।’
दसैंमा पनि सडक मर्मत भइरहेको भन्दै सचिव सिग्देलले यातायात व्यवसायीद्वारा सडक मर्मत नभएको गुनासो गर्नु भाडा बढाउने बहाना खोजेको जनाएका छन्।
‘यातायात व्यवसायीले सडक मर्मत नभएको बताउनु भाडा बढाउने बहानामात्रै हो,’ उनले भने, ‘नारायणघाट–मुग्लिङमा ग्राभेल गर्नुपर्यो भन्ने माग पनि छ, त्यो सम्भव हुँदैन।’
एक कामदारलाई पहाडी सडकमा तीन किलोमिटर तराईमा पाँच किलोमिटरसम्म मर्मत गर्नुपर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। मुलुकभरिका राष्ट्रियस्तरका सडक मर्मत गर्न मन्त्रालयमा ७ अर्ब ९२ करोड रुपैयाँ छ।
भौतिक मन्त्रालयअन्तर्गत रोड बोर्डको खातामा रहेको ७ अर्ब ९२ करोड रुपैयाँ खर्च गर्न अर्थ मन्त्रालयको स्वीकृति चाहिने भौतिक मन्त्रालयले जनाएको छ। तर, अर्थले हालसम्म स्वीकृति नदिँदा भौतिक मन्त्रालयले चालू आर्थिक वर्ष सडक मर्मत गर्न असहज हुने जनाएको छ।
‘७ अर्ब ९२ करोड रुपैयाँमध्ये करिब ७० प्रतिशतमात्रै केन्द्रमा रहन्छ बाँकी पैसा स्थानीय तहमा जान्छ,’ उनले भने ‘हाम्रै खातामा छ तर, त्यही पैसा पनि खर्च गर्ने अनुमति पाएका छैनौं।’
केन्द्र सरकारअन्तर्गत सडक विभागले मुलुकभरि १५ हजार किलोमिटर सडक हेर्नुपर्छ। जसमध्ये १० हजार किलोमिटर सडक विभिन्न कारण दैनिक मर्मत गर्नुपर्ने अवस्था छ।
त्यस्तै प्रत्येक पाँचदेखि आठ वर्षमा सडक विभागले निर्माण गरेका सडकको जाँच गर्नुपर्ने हुन्छ। सडक मर्मतसहित जाँचका लागि सडक विभागले वार्षिक ११/१२ अर्ब रुपैयाँ खर्च गर्छ।
भैतिक पूर्वाधारमन्त्री मोहमद इस्तियाक राईले अर्थ मन्त्रालयलाई बजेट खर्च गर्ने अनुमति दिन पटक–पटक आग्रह गर्दा पनि चासो नदेखाएको आरोप लगाए।
‘मन्त्रीज्यूले धेरैपटक आग्रह गरिसक्नुभयो तर, पहिला काम गर्नू अनि बजेट दिन्छौं भन्ने जवाफ आएको छ,’ सचिव सिग्देल भन्छन्।
भौतिक मन्त्रालय र सडक विभागले दसैंका यात्रुलाई सहज बनाउन मुलुकभरिका राजमार्ग मर्मत गर्ने जनाएका छन्। तर, स्थानीय जनप्रतिनिधि एवं निर्माण व्यवसायीले केन्द्र सरकारद्वारा राम्रोसँग सडक मर्मत नगरेको गुनासो गरिरहेको छन्।
केन्द्र सरकार भने सडक मर्मतको काम नियमित भइरहेको बताउँदै आएको छ।