काठमाडौं। नेपाली पर्यटन व्यवसायीहरू बंगलादेशको ढाकामा आयोजना हुने नवौं एसियन टुरिजम फेयर (एटिएफ) मा सहभागी हुने भएका छन्। कार्यक्रम सेप्टेम्बर २९ देखि अक्टोवर १ सम्म बंगलादेशमा हुँदैछ।
कार्यक्रममा सहभागी हुन १२ जना नेपाली पर्यटन व्यवसायीहरू बंगलादेश प्रस्थान गरेका छन्।
कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसाय पुन: सुरू तथा नेपालमा पर्यटन सिजन सुरू हुन लागेको समयमा नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाली पर्यटन व्यवसायीकाे साथमा सहभागीता जनाउन लागेकाे हाे।
एसियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने गर्छ। उक्त कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीहरूले आ–आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न प्रदर्शन गर्ने, विटुवी तथा विटुसी सञ्चालन हुनेछ।
कार्यक्रम बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, वसुन्धरा बंगलादेशमा गर्ने गरिएको छ।
नाट्टाका कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्रद्धा जोशीले गरेकी छन्। बंगलादेश प्रस्थान गर्ने नेपाली टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गरेका छन्।
कार्यक्रममा सहभागीताको लागी नाट्टाले नेपाल पर्यटन बाेर्डसँग सहकार्य गरेको र बोर्डबाट प्रदर्शनी गर्ने भएको छ। यस वर्ष नेपालले कन्ट्री पार्टनरको रूपमा स्थान पाएकाे छ।
कार्यक्रम अन्तर्गत बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाली व्यवसायीलगाएत विभिन्न देशका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारलाई रात्री भोजसहित नेपाल नाइटको आयोजना गर्नेछ।