काठमाडौं। कृषि औजार कारखानामा रहेका मेसिनमध्ये ५० प्रतिशत चालू अवस्थामा र बाँकी आधामध्ये २५ प्रतिशत मर्मत गरेर चलाउन सकिने राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनबाट देखिएको छ।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले २५ प्रतिशत मेसिनमात्रै काम नलाग्ने अवस्थामा रहेको बताए। ‘धेरैजसो मेसिनबाट तत्कालै कृषि औजार बनाउन सकिन्छ। केही मेसिनमात्रै काम नलाग्ने गरी बिग्रिएका छन्,’ पुनले क्यापिटल नेपालसँग भने, ‘काम नलाग्ने मेसिनलाई झिकेर नयाँ मेसिन राख्छाैं।’
उनका अनुसार पहिलो चरणमा पूर्णरूपमा काम गर्ने मेसिन अलग्याउने, दोस्रो चरणमा मर्मत गरेर चलाउन सक्नेलाई छुट्ट्याउने र तेस्रो चरणमा कामै नलाग्ने हटाउने र नयाँ राखिन्छ।
कृषि औजारकै मेसिनबाट धेरैजसो औजार बनाउन तथा अनुसन्धान गर्न मिल्ने देखिएकाले अतिरिक्त ठूलो लगानी आवश्यक नपर्ने केन्द्रको बुझाइ छ।
पुनका अनुसार नेपालमा आवश्यक हरेक कृषि औजार त्यहीँबाट उत्पादन हुन्छ। सामान्य कृषि औजारदेखि ठुल्ठूला सामग्रीसमेत यहीँ बनाउने योजना छ।
अध्ययन–अनुसन्धान र उत्पादनका काम एकसाथ हुन्छ। जे कुरा अनुसन्धानबाट पत्ता लाग्छ, त्यसको उत्पादन गरेर बजार पठाइन्छ। नेपालको भूवनोटबारे अनुसन्धानकर्ता राम्रोसँग जानकार भएकाले उपयोगी मेसिनमात्रै कारखानाबाट उत्पादन हुने पुनले जानकारी दिए।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँको कृषियन्त्र आयात भएको छ। जबकि, अघिल्लो आर्थिक वर्ष ५ अर्ब ९६ करोड रुपैयाँबराबरका कृषि सामग्री नेपाल भित्रिएको देखिन्छ।
स्वदेशमै कृषि औजार कारखाना सञ्चालन गरेर कृषि औजार उत्पादन गर्न थालेपछि ५० प्रतिशत आयात कटौती हुन सक्ने केन्द्रको अनुमान छ।
अहिले तराईमा मात्रै होइन, हिमाल र पहाडमा कृषियन्त्र प्रयोग गरेर खेती गर्ने संख्या बढिरहेको छ। पहाडी इलाकामा पनि ट्र्याक्टर, पावर ट्रिलरलगायत सामग्री प्रयोग हुन थालेका छन्। हलुका, सस्तो र किफायती भएकै कारण पहाडमा पनि कृषि औजारको लोकप्रियता बढ्दै गएको देखिन्छ।
थोरै जनशक्ति प्रयोग गरी उपकरणका सहयोगमा उच्चतम उत्पादन लिन कृषियन्त्र प्रयोग बढेको हो।
सरकारी अध्ययनअनुसार पनि किसानमाझ कृषियन्त्र लोकप्रियता बढेका कारण वार्षिक यसको बजार करिब २० प्रतिशत बढिरहेको छ। तर, नेपालको कृषि औजार २० वर्षदेखि बन्द हुँदा भारत, चीन, जापान, क्यानडा, बेलायत, मलेसिया, इटाली, इजरायल, अमेरिका, बुल्गेरिया, फ्रान्स, टर्कीलगायत मुलुकबाट कृषियन्त्र आयात हुन्छ।
पुनका अनुसार जे–जस्ता कृषि औजार माग हुन्छ, त्यस्ता सामग्री अध्ययन गर बनाइने छ। ‘अहिले नै यही औजार बन्छ भन्न सकिन्नँ,’ उनले भने, ‘तर, किसानको माग केन्द्रमा राखेर औजार निर्माण हुन्छन्।’
आविष्कार केन्द्रले बनाएका सामग्रीका मूल्य सञ्चालक समितिले तय गर्ने छ। कृषि औजार कारखानामा एउटा सञ्चालक समिति बन्छ, त्यसले लागतका आधारमा मूल्य निर्धारण गर्छ। यद्यपि, आयातित कृषि औजारभन्दा नेपालमै उत्पादन भएका सामग्री थोरै भए पनि सस्तो हुने उनको दाबी छ।
तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालको सक्रियतामा कारखाना चलाउन सकिने वा नसकिने अध्ययन भएको थियो। अध्ययन समितिले कारखाना चलाउन सकिने र सम्भावनासहितको प्रतिवेदन खनाललाई दिएका थिए। त्यसपछि कारखाना चलाउन सरकार तम्सिएको हो।
सरकार आफैंले लगानी गरेर चलाउने वा निजी क्षेत्रलाई दिने भन्ने टुंगो लागेको थिएन। तर, आफू पनि नचलाउने र निजी क्षेत्रलाई पनि नदिने निष्कर्षमा पुगेपछि १० वर्षका लागि आविष्कार केन्द्रलाई दिइएको हो।
प्रतिवेदनले सस्तो, सरल र सुलभ मूल्यमा भूगोल सुहाउँदो कृषि औजार स्वदेशमै निर्माण गरी आयात प्रतिस्थापन गर्न सकिने सुझाव दिएको छ।
नेपालमै कृषि औजार निर्माण नहुँदा बर्सेनि अर्बौं मूल्य बराबरका कृषि औजार भारतलगायत तेस्रो मुलुकबाट आयात भइरहेका छन्। बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न सार्वजनिक–निजी साझेदारी मोडेल उपयुक्त हुने प्रतिवेदनको सुझाव छ।
प्रतिवेदनले ज्ञान, सीप र अनुभवका आधारमा निजी क्षेत्रलाई पनि उद्योग सञ्चालन गर्न दिनुपर्ने व्यवस्था गरी दायरा फराकिलो पार्न सुझाएको थियो।
कार्यदलका संयोजक डा. विन्दप्रसाद शर्माको टोलीले कारखाना सञ्चालनका लागि प्राविधिक टोलीको सहयोगमा कारखानामा रहेका उपकरणको वर्तमान अवस्था र मर्मतका विषयमा खर्चसम्बन्धी अध्ययन गर्न आवश्यक रहेको औंल्याएको थियो।
पुनले पनि उक्त कार्य अघि बढाएका छन्। अहिले थप लगानी, काम लाग्ने र नलाग्ने मेसिन छुट्ट्याउन गृहकार्य भइरहेको छ। सोभियत संघ र सरकारको संयुक्त लगानीमा २०२१ सालमा स्थापना भएको यो कारखाना २०४८ सालमा निजीकरण भएपछि विभिन्न अवरोध पार गर्दै २०५९ देखि पूर्णरूपमा बन्द थियो।
सरकारको पूर्णस्वामित्वमा रहेको यो कारखानाको अधिकृत पुँजी ३ करोड, जारी पुँजी २ करोड तथा चुक्ता पुँजी १ करोड ९५ लाख छ। मिल मेसिनरी, कारखाना भवन, कार्यालय भवन, आवास भवन सामान्य मर्मत गरी तत्कालै सञ्चालन गर्न सकिने उनको भनाइ छ।
यसबाहेक कृषि औजार उत्पादन गर्ने मेसिन तथा उपकरणको अवस्था पनि सामान्य रहेकाले सामान्य मर्मत गरी उत्पादन गर्न सकिन्छ। कच्चा पदार्थ र दक्ष जनशक्ति पनि अहिले स्वदेशमै पर्याप्त परिमाणमा भएकाले कम लागतमा यो कारखानालाई पुनर्जीवन दिने पुनको सोचाइ छ।
कृषि औजार कारखानाले आफ्नो सञ्चालन अवधिमा ट्र्याक्टरको ट्रेलर, विभिन्न पुर्जा, कृषिका लागि चाहिने सुधारिएको हलो, कृषिमा काम लाग्ने अन्य औजारबाहेक नहरका ढोका, भवनको ट्रस, झोलुङ्गे पुलजस्ता उपयोगी सामग्री बनाउँदै आएको थियो।
बन्द हुनु अगाडिसम्म यसले वार्षिक करिब साढे ७ करोड रुपैयाँको सामान उत्पादन गर्ने गरेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ। मन्त्रालयका अनुसार कारखाना बन्द भएपछि वार्षिक ७/८ हजार ट्र्याक्टर, पुर्जा, २ हजार ५ मिनी टिलर, ५ हजार ५ सय पावर टिलर र करिब ३० हजार थान थ्रेसर आयात हुन्छ।