काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एकापसमा गाभिने (मर्ज) र प्राप्ति (एक्वायर) प्रक्रियामा जान समझदारीपत्र (एमओयु) गरेका विभिन्न ३० कम्पनीका सेयर कारोबार रोक्का गरेको छ।
हालसम्म नेप्सेले आठ वाणिज्य बैंक, सात माइक्रोफाइनान्स (लघुवित्त) र १५ बिमा कम्पनीका कारोबार रोक्का गरेको हो। तीमध्ये दुई कम्पनीले एक्वायर र बाँकी २८ ले मर्जमा जान सम्झौता गरेका छन्।
मर्जमा जान सम्झौता गरेका २८ कम्पनी र प्राप्ति हुन लागेका दुई कम्पनीका कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए।
मर्जरमा जान लागेका बैंक तथा वित्तीय संस्था, बिमाका साथै जलविद्युत कम्पनीले पत्राचार गरेपछि नेप्सेले सेयर कारोबार रोक्का गर्दै आएको छ।
विकास साझेदार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वाणिज्य बैंक संख्या धेरै भएको भन्दै १५ मा झार्न नेपाल राष्ट्र बैंकलाई सुझाएका थिए। राष्ट्र बैंकले पनि बैंक संख्या घटाउन मर्जमा जान दबाब दिइरहेको छ।
राष्ट्र बैंकको दबाबपछि १० वाणिज्य बैंकले मर्जमा जान एमओयु गरेका छन्। नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरी गत साउन १ बाट एकीकृत कारोबारसमेत सुरु गरिसकेको छ।
यता, दुई बिमा कम्पनी पनि मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन्। एभरेस्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडका नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।
राष्ट्र बैंकले तोकेको अवधिभित्र मर्जमा गए अहिले घोषणा गरिएको सुविधा सबै पाउने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको छ।
थप सुविधा लिन पनि बैंकहरू अहिले मर्जमा जान हतारिएका छन्। मर्जमा नजाने बैंकले पाउँदै आइरहेको सुविधा नदिने कुराले मर्जमा जान जोड दिएको स्पष्ट देखिन्छ।
प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई एक्वायर गर्दैछ। ‘हिमालयन बैंकले एक्वायर गर्न लागेको सिभिल बैंकको सेयर कारोबार रोक्का गरिएको छ,’ नेप्से प्रवक्ता पराजुलीले क्यापिटल नेपालसँग भने।
त्यसैगरी बैंक अफ काठमाडौं, नेपाल इनभेस्टमेन्ट बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, ग्लोबल आइएमई बैंक र मेगा बैंकको कारोबार रोक्का छ।
उता, बिमा समितिले बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न भनेको छ। पुँजी वृद्धि गर्न नसक्ने कम्पनीलाई भने समितिले मर्जमा जान भनेको छ। हाल १५ कम्पनीलाई बिमा समितिले मर्जमा जान सौद्धान्तिक अनुमति दिएको छ।
यसैगरी सात लघुवित्तको सेयर कारोबार नेप्सेमा रोक्का छ। लघुवित्त कम्पनीमा साना किसान विकास लघुवित्त, आरएमडिसी, घोडाघोडी, नाडेप, समाज, सिवाइसी नेपाल र आँधिखोला लघुवित्त संस्था छन्।
साना किसान विकास लघुवित्त, आरएमडिसी र घोडाघोडी लघुवित्त युनिक लघुवित्तसँग मर्ज हुन लागेका हुन्। युनिक लघुवित्त नेप्सेमा सूचीकृत छैन।
बिमा समितिले हकप्रद रोकेर मर्जरबाटै पुँजी बढाउन दबाब दिएपछि बिमा कम्पनीहरू धमाधम मर्जमा जान थालेका हुन्।
पुँजी बढाउन समितिले दबाब दिएपछि बिमा कम्पनीहरू मर्जमा जान एमाओयु गर्न थालेका हुन्। समितिले निर्देशन दिएको छोटो समयमै १७ बिमा कम्पनीले मर्जमा जाने सम्झौता गरेका छन्।
मर्जमा जान सहमति पाउने बिमा कम्पनीले यही वर्ष फागुनभित्र एकीकृत कारोबार सुरु गर्नुपर्ने बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए।
‘हामीले आर्थिक वर्षको चैतभित्र बिमा कम्पनीलाई पुँजी बढाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘पुँजी वृद्धि गर्न नसक्ने कम्पनी मर्जमा जान्छन् तर हामीले कम्पनीलाई मर्जका लागि जोड दिएका छैनौं।’
मर्जमा जाने कम्पनीलाई पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गर्न दिने सिलवालले बताए।
बिमा समितिले २०७८ चैत १० मा जीवन तथा निर्जीवन बीमा कम्पनीलाई पुँजी बढाउन निर्देशन दिएको थियो। समितिको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बिमा कम्पनीले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने छ।
जसमा सात जीवन बीमा कम्पनी र आठवटा निर्जीवन बिमा कम्पनी छन्।
जीवन बिमातर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेका छन्। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले पनि मर्जरमा जाने सम्झौता गरेका छन्।
त्यसैगरी सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको छ। हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड छ।
दुई कम्पनीबीच एकबराबर एक अनुपातमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ। त्यसअनुसार दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्ने छ।
निर्जीवन बिमातर्फ अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जमा जाने सम्झौता गरेका छन्। मर्जमा जान सम्झौता गरेसँगै ती कम्पनीको नेप्सेमा कारोबार रोक्का छ।
साथै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच पनि मर्जमा जाने सम्झौता छ। हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ। दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रुपैयाँ पुग्ने छ।
यसैगरी सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच पनि एकबराबर एक अनुपातमा मर्जमा जाने सम्झौता भएको छ।
हाल सानिमा र जनरल इन्स्योरेन्स दुवैको एक÷एक अर्ब रुपैयाँ चुक्ता पुँजी छ। एकबराबरको एकको अनुपातमा मर्ज भएपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि मर्जमा जाने सम्झौता गरेका छन्। यी दुई इन्स्योरेन्सबीचमा १००ः८० को रेसियोमा मर्जमा जाने सहमति भएको हो।
हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ छ। त्यसअनुसार मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।