काठमाडौं। एक दर्जन वाणिज्य बैंक मर्जमा जान थालेका छन्। नेपाल राष्ट्र बैंकले मर्ज र एक्वायर नीतिमा जोड दिएपछि वाणिज्य बैंकहरू धमाधम जोडी खोजेर मर्जमा जान समझदारी (एमओयु) गरेका हुन्।
एमओयु गरेका सबैको मर्ज योजना सफल भए वाणिज्य बैंक संख्या घटेर २१ मा झर्ने छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपालमा बैंकको संख्या धेरै भएको भन्दै १५ मा झार्न सुझाव दिएका छन्। केन्द्रीय बैंकले पुँजीगत रूपमा सबल बनाउन मर्जमा जान जोड दिएको हो।
हालसम्म एक दर्जन वाणिज्य बैंकले मर्जका लागि समझदारीपत्र (एमओयु) गरिसकेका छन्। नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरी एकीकृत कारोबारसमेत सुरु गरिसकेको छ।
हालसम्म कुमारी बैंक र नेपाल क्रेडिड एन्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाडौं (बिओके), हिमालयन र सिभिल बैंकबीच मर्जमा जान एमओयु भइसकेको छ।
तीमध्ये प्रभु बैंकले सेन्चुरी बैंकलाई तथा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएका हुन्। मर्जमा जान एमओयु गरेका अधिकांश ठूला बैंकले साना बैंक रोजेका छन्।
तर, कुमारी र एनसिसी बराबरीका बैंकले समान अनुपातमा मर्जमा जान एमओयु गरेका छन्। ठूलो बैंकले साना रोजिरहेका बेला कुमारी र एनसिसी भने समान र बराबरीका आधारमा मर्ज जान लागेका हुन्।
नबिल बैंकले आफूलाई ठूलो बनाउन एनबी प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ। नबिलले एनबीलाई १००ः४३ अनुपातमा प्राप्ति गरेको थियोे। हाल नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै ग्लोबल आइएमई भने बिओकेसँग मर्ज हुन लागेको हो। ग्लोबलले बिओकेसँग एमओयु गरेर पुँजीगत आधारमा देशकै ठूलो बैंक बन्ने देखिएको छ। यी दुई बैंक मर्जपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।
कुमारी र एनसिसीले असोज १० गते एमओयु गरे। १ बराबर १ अनुपातमा मर्ज हुन उनीहरूले एमओयु गरेका हुन्।
हाल एनसिसीको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ। यस्तै कुमारीको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ। बराबरी हैसियतमा मर्ज भएर एकीकृत बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्ने छ।
त्यसैगरी नेपाल इनभेस्टमेन्टले मेगालाई १००ः९० को अनुपातमा एमओयु गरेको छ। यी दुई बैंक मर्जपछि चुक्ता पुँजी बढेर ३४ अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ।
प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने गरी एमओयु गरेको छ। हाल प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ छ। मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्ने छ।
त्यसैगरी हिमालयन र सिभिल मर्ज हुन लागेका छन्। हिमालयनले १०० बराबर ८१ अनुपातमा सिभिललाई मर्ज गर्न लागेको हो। हाल हिमालयनको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ छ। मर्जपछि भने बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।
एमओयु गरेका अधिकांश बैंकले साना बैंक रोजेका छन् भने कुमारी र एनसिसी, प्रभु र सेन्चुरी भने समान अनुपातमा मर्ज हुन लागेका हुन्। अन्य ठूला बैंकले भने सानालाई रोजेको देखिन्छ। ठूला बैंकलाई झन् ठूलो बन्न मर्जमा जानुपर्ने बाध्यता छ।
नबिलले एनबीलाई प्राप्ति गरेसँगै अन्य बैंकलाई ठूलो बन्ने हुटहुटी देखिएको होे। त्यसपछि ग्लोबलले बिओके, हिमालयनले सिभिल, नेपाल इन्भेस्टमेन्टले मेगा रोजेका हुन्।