काठमाडौं। युनाइटेड टेलिकम (युटिएल) खरिद गर्न व्यवसायी उपेन्द्र महतोलाई दिएको ६५ करोड रुपैयाँ तीन वर्षसम्म पनि फिर्ता नगरेपछि चार व्यावसायिक घरानाले महतोविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।
२०७६ वैशाखमा चार व्यावसायिक घराना विशाल ग्रुप, जावलाखेल ग्रुप, ज्योति ग्रुप र आइएमएस गु्रपले युटिएल खरिद गर्न महतोलाई उक्त रकम अग्रिम भुक्तानी (एडभान्स) बुझाएका थिए।
युटिएलमा भारत सरकारको सेयर स्वामित्व नेपाली व्यवसायीमा हस्तान्तरण प्रक्रिया नमिलेपछि युटिएल खरिद–बिक्री ‘डिल’ असफल भएको थियो। ती चार व्यवासायिक घराना र महतोबीच भएको सम्झौताअनुसार किनबेच नभएपछि ६ महिनामा पैसा फिर्ता गर्नुपर्ने उल्लेख छ।
तर, महतोले तीन वर्षभन्दा बढी अवधिदेखि पैसा फिर्ता नगरेपछि चार व्यावसायिक घरानाले यही असोज मसान्तपछि मुद्दा दायर गर्ने तयारी थालेका हुन्।
‘हामीले युटिएल खरिद गर्न महतोजीलाई एडभान्समा ६५ करोड रुपैयाँ दिएका थियौं, तर उहाँले त्यो डिल गर्न सक्नुभएन र पैसा पनि फिर्ता गर्न आनाकानी गरिरहहनुभएको छ,’ सम्बद्ध एक व्यावसायिक घरानाका व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘त्यसैले सम्झौतापत्रकै आधारमा मुद्दामा जान साथीहरूबीच छलफल भएको छ। हामी अहिले वकिलसँग परामर्श लिइरहेका छौं, असोजमसान्तपछि कानुनी प्रक्रियामा जाने तयारी हाम्रो हा।’
भारत सरकारको बहुमत सेयर रहेको युटिएलले नेपालबाट बाहिरिने अन्तिम तयारी गरेका बेला नेपाली समूहले उसको सेयर खरिद प्रक्रिया थालेका थिए।
चार व्यावसायिक घरानामध्ये विशाल ग्रुपले २४ करोड, आइएमएस ग्रुपले २४ करोड, जावलाखेल ग्रुपले १२ करोड र ज्योति ग्रुपले ५ करोड अग्रिम भुक्तानी दिएका थिए। उनीहरूका तर्फबाट क्रमशः अनुज अग्रवाल, दीपक मल्होत्रा, राजबहादुर शाह र सौरभ ज्योतिले महतोसँग सम्झौता गरेका थिए।
चार घरानाले ४५ प्रतिशत सेयर खरिद गर्न युटिएलका साझेदार महतोलाई तीन वर्षअघि उक्त रकम दिए पनि सेयर खरिद–बिक्रीका लागि कुनै प्रक्रिया नभएपछि डिल भंग भएको थियो।
युटिएलमा भारतको सरकारी कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेडको २६.६६ प्रतिशत र भारतीय कम्पनी टाटा कम्युनिकेसन्स लिमिटेडको २६.६६ प्रतिशत लगानी छ।
युटिएलसँग उपेन्द्र महतो समूहको २० प्रतिशत सेयर थियो। युटिएलमा जुलीकुमारी महतोको नाममा नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर थियो। नयाँ सेयर संरचनामा उपेन्द्र महतो समूहको ५५ प्रतिशत र ती चार घरानाको ४५ प्रतिशत सेयर रहने गरी प्रक्रिया अगाडि बढेको थियो।
सुरुमा ६ समूहले युटिएल खरिद गर्ने समझदारी हुँदा महतोको ४० र अरूको ६० प्रतिशत सेयर हुने सम्झौता भएको थियो। १७ अर्ब रुपैयाँ लगानीमा नयाँ गु्रपले युटिएल खरिद गर्ने सम्झौता भएको थियो। नेपालमा २० वर्षअघि स्थापना भएको युटिएल सुरुदेखि नै घाटामा रहँदै आएको छ।