काठमडौं। नेपालमा पहिलो पटक ‘ग्रीन हाइड्रोजन समीट’ (एनएचजीएस) हुने भएको छ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको ग्लोबल एनआरएन फाउण्डेसनले जनाएको छ।
उक्त सम्मेलन असोज २४ र २५ गते काठमाडौंमा हुनेछ। सम्मेलनको अयोजना एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा गर्न लागेका हुन्।
ताहाचलस्थित होटल सोल्टी काठमाडाैंमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ। हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनकाे छ।
साथै नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताइएको छ।
योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ।
सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ।
सम्मेलनले मुख्यतया नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन गर्ने, नेपालमा हरित अमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने छ। त्यस्तै अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने, हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने पनि योजना सम्मेलनको छ।
दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने, उर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न सरकारलाई सघाउने बताइएको छ। हालसम्म नेपालमा हाइड्रोजन सम्बन्धी नीतिको व्यवस्था हुन सकेको छैन।
सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।
यससम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा सम्मेलनको छ।