काठमाडाैं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको छ।
पाटा नेपालले आफ्नाे ४७ औं वार्षिकोत्सव मनाउन आयाेजना गरिएकाे 'पाटा आइडी' कार्यक्रममा उक्त प्राेमाे भिडियाे सार्वजनिक गरेकाे हाे। पाटाले प्रत्येक वर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा संस्थाको स्थापना दिवस उत्सवको रुपमा मनाउँदै आएकाे छ।
साेही अवसरमा पाटाले काठमाडौंको मण्डिखाटारस्थित गेट कलेजमा 'पाटा आइडी' नामक नयाँ विशेष कार्यक्रम सम्पन्न गरेको छ विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिङ्किङ टुरिजम’ लाई आत्मसात् गर्दै संस्थाले वार्षिकोत्सव मनाएकाे हाे।
उक्त कार्यक्रममा सञ्जाल विस्तार, नेटवर्किंङ अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू तथा मनाेरञ्जनका कार्यक्रमहरू गरिएकाे छ। यो कार्यक्रम पाटा नेपालले प्रत्येक वर्ष वार्षिक कार्यक्रमको रूपमा मनाउने भएको छ।
पाटा नेपालले कार्यक्रममा पर्यटनसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। पाटा नेपालले लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२ संस्थाका संस्थापक कोषाध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी जोति लाल खन्नालाई प्रदान गरेकाे छ ।
त्यसैगरी पर्यटन बोर्डका पुर्व सीईओ दीपकराज जोशीलाई पाटा पर्सनालिटी अफ द इयर २०२१ उपाधि दिएकाे छ। उनले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पुर्याएकाे योगदान र विश्वव्यापी महामारीको समयमा स्वयंसेवीको भूमिका तथा सहयोग, सक्रियता, वकालत, संलग्नताको कदर स्वरुप उक्त उपाधि दिइएकाे पाटा नेपालले जनाएकाे छ।
यस्तै नेपाली उड्डयन क्षेत्रलाई सुदृढ बनाउन दिएकाे योगदान, पर्यटन उद्योगको विकासका लागि पहल गरेकाे कदरस्वरूप पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिएकाे छ भने वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड उत्कृष्ठ कृयाकलापहरू गरेको प्रशंसा गर्दै ग्लोबल कलेज इन्टरनेसनललाई प्रदान गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकको सुरक्षा, गन्तब्य, पर्यटन उपजहरूको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिका लागि सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि दीपकराज जोशीले नेपालको सन्दर्भमा 'पर्यटनमा पुनर्विचार' सम्बन्धी धारणा राखेका थिए। उनले नेपाली पर्यटनको सम्भावनालाई थप उजागर गर्न तथा पर्यटनबाट अधिकतम लाभ लिन परम्परागत स्रोतबजार कायम गर्दै एसिया क्षेत्रबाट माग बढाउनुपर्ने, डिजिटल क्षमता र सेवाहरू अभिवृद्धि गर्नुपर्ने बताए।
गुणस्तरीय लगानीलाई प्रोत्साहन गर्दै पर्यटकीय स्थलहरूको विविधीकरण गर्नुपर्ने, पर्यटन उत्पादन/गन्तब्यहरूको प्रभावकारी व्यवस्थापन र सेवा मानकीकरण गरिनुपर्ने, दक्ष जनसक्ती मानव संसाधन विकासमा जोड दिनुपर्ने उनकाे भनाइ छ। पर्यटकहरूको संख्या भन्दापनि गुणस्तर (मान) एवं विशेष स्रोत बजारलक्ष्य मार्केटिङ रणनीतिहरू अवलम्बन गर्नुपर्ने र स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन साझेदारी र सहयोगलाई बढावा दिनुपर्ने लगायत ७ वटा विषयमा काम गर्नुपर्ने उनकाे सुझाव छ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वक्ता रवीन्द्रराज पाण्डेले पाटा नेपाल च्याप्टरद्वारा हाल भैरेहेका प्रवर्द्धनात्मक प्रयास र पहल र संस्थाको औपचारिक सथापना दिवस समारोहलाई हरेक वर्ष पाटा आईडीका रूपमा मनाउने अवधारणाको प्रशंसा गरे।