काठमाडौं। भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडले प्रस्तावित ७५० सय मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गर्न सर्वेक्षण अनुमतिको मागेको छ।
एनएचपीसीले मंगलबार पश्चिम सेती आयोजनाको मात्र अध्ययनका लागि लगानी बोर्डमा सर्वेक्षण अनुमतिका लागि निवेदन दिएको हो। एनएचपीसीले साढे ४०० मेगावाटको सेती नदी–६ आयोजनाको सर्वेक्षण लाइसेन्स ६ महिनापछि पाउने छ। बोर्डले स्वीकृति दिएपछि अध्ययनको प्रक्रियाअघि बढ्ने छ। त्यसपछि आयोजनाको लागत, जडित क्षमता र निर्माण अवधि यकिन हुनेछ भने कम्पनीले लगानी जुटाउन थाल्ने छ।
साउन २३ मा बसेको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदा स्वीकृत गरेपछि हस्ताक्षर प्रक्रियाअघि बढेको थियो। आयोजना पूरै जलाशय, अर्धजलाशय वा नदी प्रवाहमा डिजाइन हुने अध्ययनपछि मात्र यकिन हुने भएको छ।
पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदीबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ। पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ।
एनएचपीसीले दुई आयोजनाबाट उत्पादन हुने बिजुली बेच्नका लागि त्यहाँको सरकार स्वामित्वको पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत खरिद बिक्रीका लागि समझदारी (एमओयू) गरेको छ।
पीटीसीसँग बिजुली बिक्रीको एमओयूले पश्चिम सेती र सेती नदी आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको हो। विद्युत व्यापार सुनिश्चित हुने भएपछि एनएचपीसीलाई लगानी जुटाउन बैंकहरुसँग छलफल अघि बढाउन बाटो पनि खुलेको छ। पीटीसी भारत सरकार स्वामित्वको ठूलो विद्युत व्यापार कम्पनी हो।
जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। यस्तै एनएचपीसीका ७ हजार ५३९ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन्।
आयोजना आर्थिक रुपमा संभाव्य देखिए भारतबाट झण्डै ३ खर्ब रुपैयाँ लगानी आउनेछ। दुई आयोजना बनाउन भारत २ खर्ब ८८ अर्ब रुपैयाँ (१ खर्ब ८० अर्ब भारु) ल्याउने एनएचपीसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अभयकुमार सिंहले बताइसकेका छन्।
एनएचपीसीका अध्यक्ष सिंहले निर्धारित समय र लागतमा आयोजना बनाउने जानकारी दिएका छन्।
पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ। आयोजनाबाट उत्पादन हुने बिजुली न्यूअत्तरिया सबस्टेसनमा जोड्ने योजना छ।
केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६१० मेगावाट पुग्नेछ। त्यस्तै केही ठूला आयोजना पाइपलाइनमा छन्।
एनएचपीसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ। आर्थिक वर्ष २०२१–२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो।
सो अवधिमा एनएचपीसीको खुदनाफा ३५ अर्ब ३८ करोड भारु पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। एनएचपीसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ।
सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ।