काठमाडौं। राजधानीमा प्रस्ताव गरिएको बहिरी चक्रपथ बनाउन तयार भएको ‘अलाइनमेन्ट’ परिवर्तन हुने भएको छ। बहिरी चक्रपथ निर्माणका लागि १७ वर्ष पहिला विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो।
तर, डिपिआरले रेखांकन गरेका अधिकांश स्थानमा सरकारी तथा व्यक्तिगत संरचना निर्माण भएकाले फेरि अध्ययन गर्नुपरेको उपत्यका विकास प्राधिकरणअन्तर्गतका बाहिरी चक्रपथ आयोजना प्रमुख जगदीश लामिछाने बताउँछन्। यद्यपि, चक्रपथका सम्पूर्ण डिपिआर नै परिवर्तन भने नहुने उनले प्रष्ट पारेका छन्।
‘अलाइनमेन्टका केही भाग परिवर्तन हुन्छ तर सबै डिपिआर परिवर्तन हुँदैन,’ आयोजना प्रमुख लामिछानेले क्यापिटल नेपालसँग भने, ‘नयाँ हुने अध्ययनले अहिलेको ७२ किलोमिटर लम्बाइमा घटबढ हुनसक्छ।’
डिपिआरअनुसार बाहिरी चक्रपथको कूल लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। तर, डिपिआर धेरै पुरानो भएकाले त्यसलाई कार्यान्वयन गर्न आयोजनाले सकेको छैन। डिपिआरले तय गरेको रेखांकनमा अहिले धेरै संरचना बनिसकेका छन्। त्यसको एक उदाहरण चोभार सुक्खा बन्दरगाह पनि हो।
उक्त बन्दरगाह बाहिरी चक्रपथको रेखांकन भएकै स्थानमा निर्माण भएको छ। जुन गत चैतबाट सञ्चालनमा आइसकेको छ। बन्दरगाहसँगै अन्य धेरै संरचना चक्रपथ आयोजनाको क्षेत्रमा निर्माण भएकाले बाहिरी चक्रपथ बनाउँदा क्षति धेरै हुने आयोजनाले जनाएको छ।
आयोजना स्थलमा क्षति कम गर्न चालु आर्थिक वर्षमा वैकल्पिक अध्ययन गर्ने योजना रहेको आयोजना प्रमुख लामिछाने बताउँछन्। जहाँ केही खालि स्थान र भवनलगायत अन्य संरचना कम हुन्छ, त्यहीँबाट नयाँ अलाइनमेन्ट बनाउने आयोजनाले जनाएको छ।
चालु आर्थिक वर्ष सुरु गरेर यही वर्ष अत्यसम्म अलाइनमेन्टको वैकल्पिक अध्ययनको काम सक्ने आयोजनाले जनाएको छ। कूल ७२ किलोमिटर लम्बाइमध्ये चोभार–सतुङ्गल ६.६ किमी खण्डमा मात्रै १७ वर्षयता १ सय २० घर निर्माण भएको आयोजनाले जनाएको छ।
अन्य स्थानमा उक्त खण्डभन्दा बढी संरचना निर्माण भएको बताइएको छ। कस्ता–कस्ता घर, कतिवटा निर्माण भएका छन्, यकिन गर्ने र तिनीहरूको क्षति कम गरी बाहिरी चक्रपथ बनाउने योजना रहेको आयोजनाको भनाइ छ।
‘बाहिरी चक्रपथ अपरिहार्य छ तर, सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छैन,’ लामिछानेले भने, ‘थोरै बजेट आउँछ, त्यसैले काम हुन पाउँदैन र डिपिआर बनाएको ठाउँमा अन्य संरचना निर्माण भएका हुन्।’
डिपिआर तयार गर्दा चार मिटरको बाटो बनाउन पाउने व्यवस्था थियो। तर, अहिले ६ मिटरभन्दा कमको बाटो बनाउन नपाउने व्यवस्था छ। जसका कारण बाहिरी चक्रपथका लागि पुरानो डिपिआर परिमार्जन गर्नुपर्ने आवश्यकता छ।
वैकल्पिक अध्ययन गर्न ५० लाख बजेट
आर्थिक वर्ष २०७९/८० मा बाहिरी चक्रपथका लागि १ करोड ८० लाख ६६ हजार रुपैयाँ बजेट प्राप्त भएको छ। जसमध्ये ५० लाख रुपैयाँ वैकल्पिक अलाइनमेन्ट अध्ययन शीर्षकमा खर्च हुनेछ।
५० लाखले अलाइनमेन्टको वैकल्पिक अध्ययनका लागि लगभग पुग्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख लामिछानेका अनुसार यसअघि डिपिआर तयार गर्दा धेरै अध्ययन भएकाले वैकल्पिक अध्ययन गर्न बजेट धेरै आवश्यक नपर्ने भएको हो।