काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिस काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गरिने भएको छ।
कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर सञ्चालन हुने तालिम कार्यक्रमसँग जोडिएका महासंघका सदस्य वस्तुुगत संघहरु क्रमशः फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, रेष्टुुरेन्ट एन्ड वार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैची व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघबीच कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रमबीच छुट्टाछुट्टै हस्ताक्षर भएको हो।
चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालिम दिइने छ र तालिम पश्चात उनीहरूलाई रोजगारीमा समेत परिचालन गरिने छ। तालिम पूर्वमा झापा, मोरङ, सुनसरी र काठमाडौंमा सञ्चालन हुनेछ। पूर्वमा अदुवा, अलैची तथा मत्यस्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जूत्ता) र पर्यटन (वेटर कुक, एयर टिकटिङ र टुर प्रोडक्ट डेभलपमेन्ट) सँग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालिम सञ्चालन गरिने छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुगत परिषदका सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भैरहेको अहिलेको समयमा महासंघ, आइएलओ र सदस्य वस्तुगत संघहरूको संयुक्त सहकार्यमा हुने तालिम कार्यक्रमबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गरे।
तालिम कार्यक्रम सञ्चालन गर्न आइएलओबाट भएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सिपयुक्त जनशक्ति विकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताए। महासंघका उपाध्यक्ष श्रेष्ठले वार्षिक रुपमा ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम
बजारमा प्रवेश गर्ने र जसमध्ये करिव ७० प्रतिशत रोजगारीमा जाने गरेका र ती मध्ये अधिकांश अदक्ष र अर्ध दक्षनै जाने गरेको तथ्यांक राख्दै यो अवस्थालाई जतिसक्दो छिटो चिर्नु आवश्यक भएकाले जनशक्ति विकासको महासंघको अभियान यो कार्यक्रमले
निकै ठूलो सहयोग पुरयाउने आसा समेत गरे।
आइएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले सीप विकासमा काम गर्ने धेरै संस्थाहरू भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पूरा गर्न नसकिरहेको आजको समस्यालाई संवोधन गर्न आइएलओले महासंघसंग मिलेर यो कार्यक्रम ल्याएको स्पष्ट पारे। यसमा आबद्ध हुने महासंघका सदस्य वस्तुगत संघहरूको तालिम कार्यक्रमलाई सफल पार्न ठूलो भूमिका रहने पनि उनले बताए।
सीप, श्रम र मर्यादित रोजगारीका लागि आइएलओले सधै जोड दिएको पनि उनले स्पष्ट पारे। आगामी दिनमा महासंघसँग मिलेर अझ धेरै क्षेत्र र संख्यालाई समेटने गरी थप तालिम कार्यक्रममा पनि सहकार्य गर्न सकिने उनको भनाइ छ। परियोजनाका साझेदारी वस्तुगत संघका पदाधिकारीहरूले परियोजनालाई सफल पार्ने कार्यमा प्रतिबद्धता जनाउँदै कार्यक्रमले वस्तुगत संघहरूको संस्थागत विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले छोटो अवधिको यो तालिम कार्यक्रमबाट सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति आपूर्तिमा ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्दै आफ्नो समितिले सीप विकासका अन्य कार्यक्रमहरू पनि ल्याउन प्रयास गरिरहेको जानकारी गराए।
कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदरचन्द्र लामिछाने, सहायक निर्देशक अजितकुमार गुप्ताको सहभागिता थियो। उक्त अवसरमा महासंघकातर्फबाट परियोजनाको बारेमा संक्षिप्त प्रस्तुती गरिएको थियो। कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य, सदस्य वस्तुुगत संघका पदाधिकारी, उद्यमी व्यवायीहरुको उपस्थिति थियो।