काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ । कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ ।
सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रूपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्नेछ ।
अमेरिकन बिजनेस डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले केही वर्षदेखि आइटी शैक्षिक कार्यक्रमअन्तर्गत बिएस्सी आइटी, एमएस्सी आइटी र एमबिए आइटीका कोर्सहरु सञ्चालन गरिरहेको छ ।
यसैगरी एक दशकभन्दा बढी समयदेखि बिजनेस शैक्षिक कार्यक्रमअन्तर्गत बिबिए र एमबिए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशीलतालाई लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ । कलेजले हरेक वर्ष आइटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकार छन् ।
यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डका लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुला रहेको छ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कात्तिक तेस्रो साता देशैभरिका १ सयभन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनका रूपमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।