काठमाडौं। भाटभटेनी सुपरमार्केटले खुद्रा पसलमा भन्दा सस्तो मूल्यमा चिनी बिक्रीवितरण थालेको छ। भाटभटेनीले काठमाडौं उपत्यकाभित्र प्रतिकिलो ८४ र बाहिरका आउटेलटहरूमा ६९ रुपैयाँमै चिनी उपलब्ध गराउँदै आएको छ। खासगरी दसैं, तिहार र छट पर्वलाई लक्षित गरी भाटभटेनीले अन्य पसलहरुको भन्दा सस्तो मूल्यमा चिनी बिक्री सुरु गरेको हो।
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले दसैं, तिहार र छठका लागि मात्र १० लाख किलो चिनी किनेर बिक्री सुरु गरिएको जानकारी दिए। विभिन्न उद्योगहरुसँग सम्झौता गरेर १० लाख किलो चिनी सबै आउटलेटहरुमा पठाइसकेको उनले जानकारी दिए।
अहिले बजारमा चिनीको खुद्रा मूल्य १०५ देखि ११० रुपैयाँसम्म पर्ने गरेको छ। तर, भाटभटेनीले भने ग्राहकहरुलाई सस्तो र सहुलियत दरमा चिनी दिइरहेको हो।
सीओओ पौडेलका अनुसार चिनी खरिद गर्दा नै प्रतिकिलो ९० रुपैयाँ पर्ने र काठमाडौंसम्म ल्याएर प्याकेजिङ गर्दा साढे ९५ रुपैयाँ पर्छ। अहिलेको मूल्यमा चिनी बेच्दा झण्डै १० करोड रुपैयाँ भन्दा बढी घाटा हुने भए पनि उपभोक्ताको मागलाई ध्यानमा राखेर सुपथ मूल्यमा चिनी बिक्री गरिरहेको उनले जानकारी दिए।
दसैं र तिहारको बेला ग्राहकहरूलाई सहुलियत दरमा उपलब्ध गराउन केही वर्षदेखि सस्तोमा चिनी बिक्री गर्दै आएको जनाएको छ। चिनीसँगै खाने तेल पनि बाहिरको भन्दा सस्तो दरमै बिक्री भइरहेको छ। बाहिर बजारमा उपलब्ध मूल्य भन्दा दुईदेखि पाँच रुपैयाँ सस्तोमै तेल बिक्री भइरहेको उनले जानकारी दिए । भाटभटेनीको उपत्यका भित्र र बाहिर गरेर २३ वटा आउटलेट छ।
दसैं, तिहार र छठमा नाफा कमाउने भन्दा पनि आफ्ना ग्राहकहरूलाई सुलभ मूल्यमा सामान दिने उद्धेश्य रहेको सीओओ पौडेलको भनाइ छ। २ वर्षको कोभिडपछि सहज रूपमा टीका लगाउने अवसरको रूपमा यो वर्ष रहेकाले ग्राहकहरूलाई अत्याधिक रूपमा छुट दिइरहेको उनको भनाइ छ। ‘केही न केही तरिकाबाट भए पनि ग्राहकहरूसँग खुसी साट्ने उद्धेश्यका साथ घाटामै भए पनि चिनी र तेललगायत सामानहरू बिक्री गरिरहेको छ’ उनले क्यापिटल नेपालसँग भने।
११ महिनासम्म बिक्री गर्दा कमाएको केही नाफाको हिस्सा दसैं, तिहार र छटको अवसरमा ग्राहकहरुलाई विभिन्न माध्यमबाट छुट दिएर राहत दिइरहेको उनको भनाइ छ। चामल, तेल लगायतका सामानमा पनि त्यही मात्रामा घाटा हुने गरेको उनको भनाइ छ।
छुटै छुटको अफर
भाटभटेनीका सबै आउटलेटहरूमा हरेक सामान खरिदमा छुटको अफर दिइरहेको छ। त्यति मात्र हैन, एनआइसी एसिया बैंकसँगको समन्वयमा उसको कार्डमार्फत भुक्तानी गरेमा २० प्रतिशत छुटसमेत दिने घोषणा गरेको छ।
गोल्डस्टार जुतामा पनि २५ प्रतिशत र इलेक्ट्रोनिक सामानहरूमा ३५ प्रतिशतसम्म छुट दिएको छ। योसँगै ग्रोसरीमा १० प्रतिशत छुट दिइको जनाएको छ। छुट दसैं, तिहार र छटसम्म लागू हुने जनाएको छ।
किलोको ९०० रुपैयाँमा खसीको मासु
भाटभटेनीले विगतका वर्षहरूमा झै यसपालि पनि दसैंका लागि खसीको मासु उपलब्ध गराउने भएको छ। तर, यो वर्ष भने गत वर्ष जतिकै हाराहारीमा भने खसीको मासु पाइदैन।
पर्याप्त मात्रामा खसी नभएका कारणले थोरै मात्र उपलब्ध गराउन लागिएको जनाइको छ। खसीको मासु प्रति किलो ९०० देखि १२०० रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ।
डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न उपहार अफर
डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न क्यूआरमार्फत भुक्तानी गर्नेहरूमेध्ये २० हजार जनालाई प्रतिव्यक्ति १ हजार रुपैयाँको गिफ्ट भौचरको व्यवस्था गरिएको छ। योसँगै हरेक साता एउटा आउटलेटबाट तीन जनालाई ३० सेकेण्डको अनलिमिटेड फ्रि सपिङको अफरसमेत राखिएको छ। ३० सेकेन्डभित्र कति सामान किन्न सक्यो त्यो सबै निःशुल्क हुनेछ।