काठमाडौं । बैंकहरूले आफूखुसी ब्याज दिएर विभिन्न नामका निक्षेप विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा देखाएको भेटिन थालेपछि राष्ट्र बैंकले निगरानी बढाएको छ । पछिल्लो समय निक्षेप बढाउने नाममा बैंक तथा वित्तीय संस्थाहरूले रेमिट्यान्स निक्षेपमा उच्च ब्याज दिइरहेका छन् ।
वित्तीय संस्थाहरूले उच्च ब्याज दिने प्रतिस्पर्धा मात्रै गरेका छैनन् पछिल्लो समय कस्तो निक्षेपलाई रेमिट्यान्समा राख्ने भनेर केन्द्रीय बैंकको नीतिको कमजोरी (लुपहोल) खोजेर पहुँचवालालाई फाइदा पुग्ने निर्णय गरिरहेका छन् । असोजदेखि बैंकहरूले रेमिट्यान्स निक्षेपको मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
बैंकहरू इमान्दार नबन्दा रेमिट्यान्स ब्याजमा ठूलो विकृति देखिएको छ । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले विवेकशील (प्रुडेन्सियल) बैंक पनि बदमासीमा उत्रिएको पाइएको केन्द्रीय बैंकका एक उच्च अधिकारीले बताए ।
वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने रकम (रेमिट्यान्स)लाई आकर्षित गर्न अन्य निक्षेपको भन्दा न्यूनतम १ प्रतिशतको अन्तर हुनुपर्ने गरी दिएको सीमालाई बैंकहरूले दुरुपयोग गरिरहेको केन्द्रीय बैंकको बुझाई छ ।
‘बैंकहरूले जस्तोसुकै रकमलाई पनि रेमिट्यान्स मानेर उच्च ब्याज दिइरहेको भन्ने सुन्नमा आएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘केन्द्रीय बैंकले दिएको सुविधालाई दुरुपयोग गरेर उनीहरूले बदमासी गरेका हुन सक्छन्, हामीले सूक्ष्म रुपमा अध्ययन गरिरहेका छौं ।’
अन्य निक्षेपमा भन्दा रेमिट्यान्स खाताको ब्याजदर उच्च भएकाले आफू निकट निक्षेपकर्तालाई रेमिट्यान्स खाता खोलेर रकम राख्न आग्रह गरिरहेको सूचना आएको केन्द्रीय बैंकका ती अधिकारीले भने । अहिलेसम्म रेमिट्यान्स खाता नभएको व्यक्ति पनि बैंकमा गएर रेमिट्यान्स खातामा आफ्नो निक्षेप परिणत गरिरहेको र त्यसलाई बैंकरहरूले सहजीकरण (फेसिलिटेट) गरिररहेको बुझाईमा केन्द्रीय बैंक छ ।
तर, बैंकरहरू भने आफूहरू दोहोरो चेपुवामा परेको बताउँछन् । ‘एकातिर ठूला व्यक्तिगत निक्षेपकर्ताहरूले बढी ब्याज नदिए फिर्ता लैजाने धम्की दिन्छन् भने अकोतिर केन्द्रीय बैंकले गलत ऋभयास गरेको भन्दै कारबाहीको धम्की दिइरहेको छ’, एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘कुनै बैंकले आफ्नो सामान्य निक्षेप रेमिट्यान्स निक्षेपमा राखेर उच्च ब्याज नदिए त्यहाँबाट निकालेर अन्य बैंकमा रेमिट्यान्स आय स्वघोषणा गरी राख्ने गरेका छन् ।’
बैंकहरूबीच निक्षेप संकलनमा चर्को प्रतिस्पर्धा भइरहेका बेला असल बैंकिङ गर्नेहरू पनि निक्षेप जोगाउन अनेकन बाध्यतामा फस्नुपर्ने स्थिति आएको ती सीईओले बताए ।
केन्द्रीय बैंकले बजार औसतको अधिकतम १० प्रतिशत मात्रै ब्याज बढाउन पाउने व्यवस्था गरे पनि रेमिट्यान्स ब्याजको हकमा त्यस्तो व्यवस्था छैन । त्यही भएर बैंकहरूले असोजको ब्याजदर प्रकाशित गर्दा रेमिट्यान्सको ब्याज उच्च बनाएका थिए ।
रेमिट्यान्स ब्याज बढाउँदा वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रोत्साहन हुने अपेक्षा गरिएको थियो । तर, पहुँचवाला निक्षेपकर्ताहरू रेमिट्यान्स निक्षेपमा रकम राखेर सोहीअनुसार ब्याज लिन लागिपरेका छन् । कतिपय पहुँचवाला निक्षेपकर्ताले रेमिट्यान्स आय भएको स्वघोषणा नगरीकन पनि बैंकले रेमिट्यान्सको ब्याज पाइरहेका छन् ।