पोखरा। गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिलातर्फ ११ समूह गरी कूल ४९ समूहको सहभागिता रहेको थियो।
पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता असोज ७ र ८ गते गरी २ दिनसम्म चलेको थियो। प्रतियोगिता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख अतिथ्यमा सम्पन्न भएकाे थियाे । उक्त प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबीच मैत्रिपूर्ण खेल भएको थियो।
प्रतियोगिताको फाइनल खेलमा पुरुष समूहतर्फ नबिल बैंकले सिद्धार्थ बैंकलाई ट्राईबेकरमा हराउँदै तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिताको विजेता बनेको थियाे। त्यसैगरी लक्ष्मी बैंकले फाइनल खेलमा मेगा बैंकलाई १/० गोलले हराउँदै प्रतियोगितको महिला समूहतर्फ विजेता बन्न सफल भएको छ।
प्रतियोगिताको पुरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नविल बैंकका फडेन्द्रजङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी तृष्णा प्रधान र पोखरा फाइनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन्।
प्रतियोगितको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्णप्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटीका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति थियो।
उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए।