काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकामा खसीबोका र भेंडाच्याङ्ग्रा भित्रिन थालेका छन् । दशैँमा उपत्यकामा दैनिक १ हजार देखि १५ सयसम्म खसीबोकाको माग हुन्छ । दशैभर करिब ५५ हजार खसीबोका खपत हुने चौंपाया खरिद बिक्री संघका अध्यक्ष दीपक थापाले बताए । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि झन्डै ३ हजार खसीबोका तथा भेंडाच्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न लागेको छ । उक्त संख्याका खसीबोका तथा भेंडाच्याङ्ग्रा काठमाडौं उपत्यकामा आइसकेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।
सरकारले खसीको मूल्य निर्धारण गरी बाहिर बिक्री भएको मूल्यभन्दा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्दैछ । तर, अहिलेसम्म मूल्य निर्धारण भइसकेको भने छैन । गौंचनका अनुसार, मन्त्रालय, विभाग, व्यापारी र सरोकारवालासँग छलफल गरी आज या भोलीमै मूल्य तोकिनेछ ।
बाहिरका व्यापारीले बिक्री गर्नेभन्दा ३० देखि ५० रुपैयाँ सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने योजना रहेको गौचनले बताए । अहिले काठमाडौं उपत्यकामा मात्रै दशैं र तिहारका लागि व्यापारीले झन्डै ६ देखि ८ हजार खसीबोका ल्याउँदैछन् । अहिले भारतीय खसीबोका विगतका वर्षको तुलनामा निकै कम भित्रिएका छन् । जस्काकारण, स्वदेशी खसीबोकाको खपत बढ्दो रहेको सरकारी अधिकारीले बताएका छन् ।
भारतबाट ल्याइने खसीबोका भन्सारमा निरोगीताको प्रमाणपत्रका आधारमा मात्रै ल्याउन पाइन्छ । सरकारले गत २०७५ फागुनदेखि खसीबोका तथा मासुजन्य वस्तुको अनिवार्य रुपमा क्वारेन्टाइन वा निरोगीताको प्रमाण देखाएर मात्रै ल्याउने व्यवस्था लागू गरेको थियो ।
अहिले विभिन्न उपत्यकाका खसीबजारमा खसीबोका तथा भेडाच्याङ्ग्रा आउने र खरिद बिक्री हुन सुरु भएको चौंपाया खरिद बिक्री संघका अध्यक्ष दीपक थापाले बताए । अहिले मासुको मूल्य जिउँदो खसीबोका ६५० रूपैयाँ प्रतिकिलोसम्ममा व्यापारीले बिक्री गरेको उनले बताए । गत वर्ष भने ५४० रुपैयाँमा खसीबोका बिक्री भएको उनको भनाइ थियो । खसीबजारमा विभिन्न बिचौलिया व्यापारीका कारण पनि खसीबोकाको मूल्य बढेको उनले बताए ।
उनका अनुसार, खसीबोकाको खुद्रा बजार मूल्य भने अहिले १२०० देखि १३०० रुपैयाँ प्रतिकेजी पुगेको छ । क्वारेन्टाइनको कडाँइ र उत्पादन लागत बढेकाले पनि केही मूल्य बढेको हुनसक्ने उनको भनाइ छ । गत वर्ष भने ९५० देखि १०० प्रतिकेजी मूल्य थियो । गत वर्ष दशैंदेखि तिहारको अवधिमा उपत्यकामा मात्रै ५५ हजार खसीबोका बिक्री भएका थिए । अहिले पनि त्यही परिमाणमै खसीबोका खरिद बिक्री हुने व्यापारीको अनुमान छ ।
व्यापारीले झन्डै १२ हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा ल्याउने योजना रहेको थापाको भनाइ छ । यता, सरकारले चाडपर्वका स्वदेशी खसीबोकाको उत्पादन बढेका कारण मासु अभाव नहुने बताएको छ । व्यापारीले पनि चाडपर्वमा आवश्यक मासु पूर्ति हुने बताएका छन् । पछिल्लो समय आम उपभोक्तामा चाडपर्वका बेला बढी मासु खाने कल्चर बढेको देखिन्छ ।
तस्विरः नाजिया श्रेष्ठ