पोखरा। विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) पोखराले असोज ११ गते पर्यटन दिवसको दिन सडक महोत्सव गर्न लागेको हो।
‘पर्यटनमा पुनविचार गरौ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आइतबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखी वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँचबजे देखि राति १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए।
उनका अनुसार नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिनेछ।
आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिकमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेले बताए। उनले देशमा रहेका सम्पूर्ण मूर्त अमूर्त रूपमा रहेका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बर्द्धन र विकास गर्दै आर्थिक उपार्जनमा जोडेर जानुपर्ने र यसमा मिडियाकर्मीको प्रवर्द्धनात्मक भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
सोही अवसरमा पोखरा पर्यटन परिषदले पनि ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले पोखराको पर्यटनलाई विश्व बजारमा पुर्याउनका लागि छिमेकी मुलक भारतका विभिन्न शहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तब्यको स्थलगत भ्रमण गराउने र अन्तराष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्रि म्यानेजर’ हरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताए।
उनका अनुसार अहिले करिब २४ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। ति मध्ये १० एयरलाइन्सको प्रतिनिधिकाे कार्यक्रममा सहभागिता हुनेछन्। नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध संघसंस्थाहरूले पनि क्षेत्रगत रूपमा विभिन्न कार्यक्रमहरू तय गरेका छन्।