काठमाडौं। वर्षौंदेखि नेपाली जहाजलाई युरोपको आकासमा निषेध गर्दै आएको युरोपेली आयोग (ईयु) टोली हवाई ‘सेफ्टी अडिट’ गर्न नेपाल आउने निश्चित भएको छ।
मुलुकको उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदिप अधिकारीले सेफ्टी अडिटका लागि ईयु टोली असोज २० (दसैं टिका भोलिपल्ट) मा आउने पुष्टि गरे।
‘ईयु टोली दसैं टिकाको भोलिपल्ट आउने खबर प्राप्त भएको छ,’ महानिर्देशक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘सेफ्टी अडिटका लागि हामी पूर्णरूपमा तयार छौं।’
पछिल्लो समय हवाई दुर्घटना न्यून भइरहेको र सेफ्टीमा धेरै सुधार भइसकेकाले अब हुने अडिटबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने महानिर्देशक अधिकारीको भनाइ छ।
उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को पछिल्लो प्रतिवेदनमा पनि नेपालको हवाई सुरक्षामा उल्लेख्य सुधार भएको देखाएका कारण ईयुले पनि कालोसूचीबाट हटाउने सम्भावना छ।
केही महिनाअघि आइकाओले गरेको परीक्षणले नेपालको मापदण्ड परिपालनको औसत दर ७०.१ प्रतिशत देखाएको छ। हवाई सुरक्षासम्बन्धी प्रश्न उठाउँदै आइकाओले सन् २०१३ मा नेपाललाई गम्भीर सुरक्षा चासो भएको देशमा राखे पनि पाँच वर्षपछि नेपाललाई उक्त सूचीबाट हटाएको थियो।
यता, ईयुले भने नेपाललाई २०१३ देखि नै कालोसूचीमा राख्दै आएको छ। विशेषगरी आइकाओ र ईयुले समेत नेपालमा उड्डयन नियामक र व्यवस्थापन गर्ने काम एउटै संस्थाबाट भएको भन्ने प्रश्न उठाउँदै आएको छ।
क्यानलाई नियामक र व्यवस्थापक छुट्टाछुट्टै बनाउने विधेयक राष्ट्रियसभाबाट पास भइसकेको छ। अब प्रतिनिधिसभाबाट पास भएपछि कार्यान्वयनमा जाने छ।
यसअघि ईयु टोली अडिटका लागि २०१३ मा नेपाल आएको थियो। अहिले पनि सोही टोली अडिट गर्न आउने भएको हो। ईयु टोली नेपालमा पाँच दिनसम्म रहने छन्।
लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्दिनेस, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रम एन्ड ग्राउन्ड एडलगायत आठ क्षेत्रमा अध्ययन गर्ने जनाएको छ।
नेपालको हवाई क्षेत्रबारे आइकाओले पहिलोपटक १९९९ मा प्रारम्भिक अडिट गरेको थियो। २००१ मा यहाँ पहिलोपटक आइकाओले औपचारिक अडिट गरेको थियो। त्यस समयमा पनि हवाई सुरक्षाको कुरा उठाएको थियो। पुनः आइकाओले २००४ र २००८ मा पनि अडिट गरेको थियो।
इयुले वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिदाँको स्टाटस, दुर्घटना जाँचबुझ प्रतिवेदनसहित नेपालमा २०१२ सेप्टेम्बर देखि २०१३ सेप्टेम्बरबीच तीनवटा दुर्घटना हुनुलगायत धेरै विषय उठाउँदै नेपाललाई कालोसूचीमा राख्दै आएको छ।