काठमाडौं। सधैं काम र पढाइको भागदौडमा व्यस्त रहने युवा पुस्ता यतिबेला दसैंमा कस्तो फेसन गर्ने भन्ने योजना बनाउन तल्लिन छन्। पछिल्लो समय जो कोहीलाई लाग्नसक्छ दसैं आधुनिकतामा परिवर्तन हुँदैछ। तर, त्यसो नभएर सामान्य पहिरनमा दसैं मनाउँदै छन् युवायुवती। अरू बेला कसैको विवाह होस् वा कुनै ‘सेलेब्रेसन’ भन्दा फरक छ, दसैंको फेसन।
काठमाडौंकी प्रथा श्रेष्ठ दसैंको तयारीमा छिन्। उनले बजारमा अन्य दिन चलेका जस्ता फेसन नभएर सामान्य पहिरनमा सजिने सोच बनाएकी छिन्। उनले दसैंका लागि सामान्य पहिरन सलवार कुर्ता (सुट) मा सजिएर ‘दसैं ग्यालरी’ मा समेत सेभ गरिसकेकी छिन।
पछिल्लो समय बजार आएका आधुनिक फेसन डिजाइन त अन्य दिनमा पनि लगाइन्छ, तर दसैंमा सामान्य कुर्तामा सजिँदा साँचिकै मौलिक फेसनमा भएजस्तो महसुस हुन्छ उनलाई। उनले बैजनी रङको कुर्ता (सुट) सेलेक्ट गरेकी छिन्।
...
काठमाडौं अनामनगर बस्ने विपना थापा मगर कलेज बिदामा गाउँ सर्लाही गएर दसैं मनाउने योजनामा छिन्। उनलाई दसैंमा सामान्य कपडा लगाउन मनपर्छ। त्यसैले अनलाइन सपिङमा टप्स अर्डर गर्ने तयारीमा छिन्। सस्तो मूल्यमा मौलिक पहिरन सहजै पाइने हुँदा उनी कुर्तामा आकर्षित भएकी हुन्। ‘सामान्य कुर्ता लगाउने अवसर दसैंमा जुर्छ, अन्य दिन त जिन्स पाइन्ट र वान पिसमा नै हुन्छु,’ उनी भन्छिन्।
अनामनगरमै बस्ने सावित्री जोशी पनि दसैंका लागि लुगा छानिसकेको बताउँछिन्। ‘सिम्पल लुक्स’ मा देखिन मनपराउने उनी बुटिककै भए पनि सिम्पल डिजाइनको सरारा कुर्ता किन्ने योजनामा छिन्। उनले बुटिक पुगेर सिम्पल डिजाइनमा सरारा कुर्ता तयारीको अर्डर दिएकी छिन्। नेपालमा मात्र होइन, विदेश बस्ने नेपालीका लागि पनि दसैं चहलपहल सुरु भइसकेको छ। विदेशिएकाहरू दसंैका लागि स्वदेश आउने क्रम सुरु भएको छ।
अमेरिका बस्ने पुनित ढकाल नेपाल आएर परिवारसँग दसैं मनाउने योजनामा छिन्। उनले दसैंका लागि भनेर अनलाइनमार्फत डिजाइन सेलेक्ट गरिसकेकी छिन्। उनलाई पनि दसैंमा सिम्पल लुक्समा देखिन मनपर्छ।
विदेशको भागदौड नेपाल आएर बिसाउने योजनामा रहेकी उनी नेपालीपन झल्किने सिम्पल साडी पहिरनमा सजिन चाहन्छिन्। ‘सासु, जेठानी सबैले सेम कलर र सेम डिजाइनको साडी सेलेक्ट गरेकी छु,’ उनी भन्छिन्।
उनले आफ्ना लागिमात्र होइन। सबै परिवार श्रीमान, ससुरा सबैले एकैखाले पहिरनमा सजिने योजना बनाएको उनी बताउँछिन्। ‘वान पिस, पाइन्ट, टिसर्ट त जहिले पनि लगाउछु तर साडी लगाउन चाडपर्व अथवा उत्सव नै कुर्नुपर्छ,’ उनी भन्छिन्, ‘मलाई साडी फेसन एकदमै मनपर्छ। मेरो मनपर्ने फेसन पनि साडी नै हो।’
यसरी नै युवतीहरू सामान्य फेसनमा दसैं मनाउने तयारीमा छन्। युवा पनि मौलिक पहिरनमा दसैं मनाउने तयारीमा छन्। कीर्तिपुरका विश्वास भुसाल दसैंका लागि जिन्स पाइन्ट नभएर सामान्य कुर्थी लगाउन फेसन डिजाइनरलाई अर्डर दिएका छन्।
कुर्थीमा आफूलाई सजिन पाउँदा जेन्टल देखिने गरेको उनको अनुभव छ। पछिल्लो समय बजारमा नयाँ डिजाइनका फेसन आए पनि परम्परागत पहिरनमा सजिन युवायुवती मन पराउँछन्। हिजोआज अनलाइन सपिङ ट्रेन्ड बढ्दै गएको छ। अनलाइन सपिङले पनि सामान्य पहिरनका ‘दसैं आउटलेट’ तयार पारेका छन्।
...
दसैंको रमझम सुरु भएको छ। दसैंलाई नयाँ लुगा लगाउने र मिठो खाने चाडपर्वका रूपमा हेरिन्छ। बढ्दो आधुनिकतासँगै फेसनसमेत परिर्वतन भइरहेको छ। आफूलाई कसरी आकर्षक र सुन्दर देखाउने भन्ने होडमा छन् अहिलेको पुस्ता। मन खोलेर आफ्नो रोजाइको फेसन गर्न मन पराउनेहरू पनि दसैंमा अलि फरक देखिन चाहन्छन्। दसैंलाई अलि सिम्पल लुक्स सुट हुने उनीहरूको भनाइ छ।
चाडपर्वमा ट्रेडिसनल र कल्चरल ड्रेस पहिरिएर दसैं मनाउने सोच अधिकांशमा रहेको फेसन डिजाइनर बताउँछन्। पछिल्लो समय चाडपर्वअनुसार डिजाइनदार ड्रेस रोजाइमा पर्ने गरेको बताउँछिन् कुसुम क्रिएसन एन्ड एन्सुलेट बुटिककी सञ्चालक कुसुमपदम श्रेष्ठ। दसैंमा अलि क्याजुअल, सिम्पल कपडा लगाउँदा राम्रो देखिने भएकाले पनि अधिकांशको रोजाइमा कुर्ता र साडी पर्ने गरेको छ। दसैंका लगि विभिन्न डिजाइन तयार गरेकी श्रेष्ठले सिम्पल तर डिजाइनदार कपडा लगाउन रुचाउने गरेको बताइन्।
दसैंलाई अहिले सरारा, गरारा, पाइन्ट स्टाइलको कुर्ता, अम्ब्रेला बढी चलेको उनले बताइन्। नेपालीमा फेसन सेन्स बढेका कारण पनि फेसनबारे बुझाउन गाह्रो नहुने उनको भनाइ छ। सिम्पल तर डिजाइनदार डे«स लगाउन मनपराउने गरेको उनी बताउँछिन्।
कोभिड महामारीपछिको दसैं भए पनि आर्थिक मन्दीका कारण आफ्नो खर्च कटौती गरेको महसुस उनले गरेकी छिन्। नियमित आउने ग्राहकले पनि सिम्पल डिजाइनदार तर सस्तो लुगा खोज्ने गरेको उनको अनुभव छ। व्यापारका हिसाबले गत वर्षको दाँजोमा राम्रो हुनुपर्ने भए पनि कम खर्च कटौतीका कारण लुगामा खर्च नगरेको उनी बताउँछिन्। ‘पुराना ग्राहकले पनि कम पैसामा लुगा किनेका छन्,’ उनले भनिन्।
अर्की फेसन डिजाइनर अनुष्का डिसी दसैंमा सिम्पल तर डिजाइनदार डे«स लगाउन रुचाउने बताउँछिन्। उनका अनुसार नेपालीहरू इन्डियन फेसनसँग प्रभावित छन्। सिम्पल र डिजाइन गरेर लगाउन रुचाउने उनको भनाइ छ। बनावट र रङमा बढी ध्यान दिने गरेको उनी बताउँछिन्। ‘अन्य उत्सवभन्दा दसैंका लागि रङका आधारमा अलि सिम्पल लगाउन चाहन्छन्,’ उनी भन्छिन्, ‘दसैं भनेपछि म्युजिक भिडियो, मुभीमा समेत अलि सिम्पल फेस्टिभल फ्रेन्डली कलरका लुगा खोज्छन्।’
मास्टर बुटिककी पुनम बोहरा सस्तो र राम्रो लुगा खोज्ने गरेको बताउँछिन्। पहिले अलि बढी खर्चेर लगाउनेहरू पनि यसपालि अलि कम खर्चमा सिम्पल, राम्रो तर सस्तो कपडा लगाउन रुचाउने उनको भनाइ छ। दसैंले चारैतिर उल्लासमय देखिएको छ। मौसममा आएको परिर्वतनले पनि दसैं आएको झल्को दिइरहेको छ। कोभिड महामारी बिर्सेर सबै नेपाली दसैं मनाउने तयारीमा छन्।
गायिका/मोडल सिर्जना खत्रीको दसैं फेसन टिप्स
आफू सधैं आकर्षक देखाउन मन पराउने गायिका तथा मोडल सिर्जना खत्रीको फेसनप्रतिको धारणा भने अलि फरक छ। अन्य दिन पाइन्ट, हाफपाइन्ट, टिर्सट, वान पिस पहिरिने उनी दसैंका लागि अलि फरक पहिरिन मन पराउँछिन्। उनी आफ्नो डे«स तथा खानकीमा एकदमै सचेत पनि छिन्।
चाडपर्वमा विशेषगरी रङ, डिजाइन र ट्रेन्डमा ध्यान दिनुपर्ने उनको सुझाव छ। लगाउन सजिलो, शरीरमा फिट हुने र उज्यालो रङका लुगा लगाउँदा उपयुक्त हुने उनको भनाइ छ। अहिले दसैंमा जर्जेट, अर्र्गान्जा, सिल्कका प्लेन तथा प्रिन्टेड डिजाइनर साडी, सरारा कुर्ता, अनारकली कुर्ता सलवार ट्रेन्ड चलिरहेको उनी बताउँछिन्।
आफूलाई फिट राख्ने उनी समय र ठाउँ अनि चाडपर्वअनुसारका कपडा पहिरिन्छिन्। कपडा सेलेक्ट गर्दा आफ्नो बजेटलाई पनि ध्यान दिनुपर्ने उनको बुझाइ छ।
‘कोरोनापछि आजभोलि ट्रेन्ड र बजेट फ्रेन्डली कपडा लगाउन थालेका छन्। फोटो र टिकटकका कारण लुगा रिपिट गरेर लगाउन रुचाउँदैनन्,’ उनी भन्छिन्, ‘त्यसैले आफू सुहाउँदो रङ, सहज लाग्ने डिजाइन र शरीरअनुसार पहिरन लगाउनुपर्छ।’
उनका अनुसार पछिल्लो समय नेपालीहरू फेसनमा निकै अगाडि आइसकेका छन्। सोसल मिडियाका कारण पनि मानिस बढी फेसनेबल र ट्रेन्ड फलो गर्ने भएकाले आजभोलि नेपालीमा राम्रो ड्रेसिङ सेन्स पाइने उनको भनाइ छ। सबै उमेर समूहकाले आफू सुहाउँदो फेसन गर्न सकिने उनी बताउँछिन्।