काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पत्रकारले समाचार आकर्षक बनाउन र पाठक बढाउनको लागि मात्रै समाचार लेख्न नहुने बताएका छन्।
महासंघको आयोजनामा भएकाे पूर्वाधार बिटमा समाचार लेख्ने पत्रकारलाई अभिमुखिकरण कार्यक्रममा बाेल्दै सिंहले बुझेर मात्र समाचार लेख्न आग्रहसमेत गरे ।
'यथार्थ बुझेर कार्यालय वा व्यवसायीसँग बुझेर मात्रै समाचार लेख्दिनु होला,' उनले भने 'हामीलाई पत्रकारको सहयोग धेरै छ र खबरदारी गरेका कुरामा हाम्रो गुनासो छैन। तर, केही पत्रकारले मानमर्दनमा ख्याल नगर्दा समस्या भएको छ। '
त्यस्तै नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले विकासको क्षेत्रमा सञ्चारमाध्यम संलग्न नभए विश्वसनीयतामा माथी प्रश्न उठ्ने बताए । सोही कारण संचारमाध्यम र पत्रकारले समाचार लेख्दा ख्याल् गर्नुपर्ने अध्यक्ष पोखरेलको भनाइ छ।
कार्यक्रममा बोल्दै उनले भने, 'राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा काम गरेको छैन त्यसैले पत्रकारले समाजको लागि उत्तरदायी भएर काम गर्नुपर्छ। निर्माण व्यवसायीलाई मात्रै दोष नदिइ वास्तविकता बुझेर समाचार लेख्नुपर्छ।'
अहिलेको विकास मोडलले कस्तो विकास निर्माण हुन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने उनले बताए।
प्रेस काउन्सिल नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहकार्यमा महासंघ कार्यक्रमको आयोजना गरेकाे थियाे। पूर्वाधार बिटमा समाचार लेख्ने पत्रकारका लागि आयाेजना गरिएकाे अभिमुखिकरण कार्यक्रम शुक्रबार लैनचौरमा भएकाे थियाे। पूर्व संसद बहादुरसिंह लामाकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा पत्रकारसँग नीतिगत विषयमा छलफल गर्ने महासंघले जनाएको छ।