काठमाडाैं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।
यस्तै, संघको कार्यकारिणी समिति सदस्यमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे छन् ।
संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरु लागि पर्ने बताए । नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो ।