काठमाडौं । निजी लगानीमा स्थापना भएको म्याग्नस फर्मा प्राइभेट लिमिटेडको औषधी व्यापार बढ्दै गएको छ । उद्योगले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड रुपैयाँको औषधी उत्पादन तथा बिक्रीवितरण गरेको छ ।
उद्योगले सन् २०२१ मा १ अर्ब १ करोड रुपैयाँको औषधी व्यापार गरेको थियो । २०२० मा ८० करोड ९० लाख र २०१९ मा ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।
३ वर्षको वित्तीय विवरण हेर्दा म्याग्नसको औषधीको कारोबार बढ्दै गएको देखिन्छ । उद्योगका देशभर २ सय सयभन्दा औषधी बिक्रेताहरु छन् । उद्योगले विभिन्न २५ श्रेणीमा १९० थरीका औषधीको उत्पाद तथा बिक्री वितरण गर्दै आएको छ ।
उद्योगले गम्भीर रोगका साथै एन्टीडायबिटिज, एन्टिसाइकेटिक र एन्टीहाइपरटेसिभ औषधीको उत्पादन गर्दै आएको छ । यी औषधीहरुको व्यापार बढ्दा उद्योगको समग्र आम्दानीमा सुधार आएको हो । उद्योगले आफ्नो क्षमताको ६० प्रतिशत मात्र उपयोग गरेको छ ।
४० प्रतिशत क्षमता अझै उपयोग गर्न सकेको छैन । उद्योगले औषधी उत्पादन बढाउन प्लान्ट विस्तार गरेको छ । यसमा म्याग्नस फर्माले ६० करोड रुपैयाँ लगानी गरेको छ । यसमा ३७ करोड ७० लाख रुपैयाँ बैंकहरुको ऋण र बाँकी संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी छ ।
२०२३ को सेप्टेम्बरमा प्लाण्टबाट औषधी उत्पादन थाल्ने उद्योगले जनाएको छ । नयाँ प्लान्टबाट प्यारेनल र अप्थाल्मिक औषधीहरु उत्पादन हुने भएको छ ।
उद्योगले ९० करोड ८९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगको प्रवन्ध सञ्चालकमा सुधीरप्रकाश मास्के छन् । जनचेतनाको स्तर वृद्धिका कारण अहिले औषधीको प्रयोग बढ्दै गएको छ । यसले स्वदेशी कम्पनीको व्यापार बढाउन सघाउ पुर्याएको छ ।
औषधीको व्यापार ३ प्रतिशतले बढेर ४३ करोड डलर (झण्डै ४५ अर्ब रुपैयाँ) पुगेको छ । सन् २०१८ मा नेपालमा औषधीको बजार ३८ करोड ६० लाख डलर (झण्डै ४० अर्ब रुपैयाँ) को थियो । नेपालले अझै पनि ठूलो परिमाणमा औषधीको आयात भइरहेकाले यसलाई प्रतिस्थापन गर्न स्वदेशी उद्योगहरुलाई ठूलो अवसर छ ।
उद्योग सन् २००७ मार्चमा स्थापना भएको हो । उद्योगमा औषधी क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानी रहेको छ । म्याग्नस फर्माको कारखाना बारा जिल्लामा छ ।