काठमाडौं। खुर्कोट–घुर्मी सडक खण्डमा गोलन्जोर गाउँपालिकाले दसैंको समयमा पहिरो पन्साउन २ वटा मेसिन राख्ने भएको छ। बर्खा लागेसँगै पटक–पटक पहिरो गइरहँदा दसैंका यात्रुलाई सहज बनाउन २ वटा मेसिन बाटोमै राख्ने पालिका अध्यक्ष शंकरराज बरालले बताए।
उक्त सडक खण्ड केन्द्र सरकारअन्तर्गतको मध्यपहाडी (पुष्पलाल) राजमार्ग हो। केन्द्र सरकारअन्तर्गतको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले निर्माण गरेको सो राजमार्ग मर्मतको जिम्मेवारी पनि निर्देशनालयकै हो। ‘अहिलेसम्म पहिरोले यात्रु रोकिएपछि मेसिन परिचालन गर्दै आएका छौं, नौरथा लागे पनि २ वटा मेसिन सडकमै राख्नुपर्ने हुन सक्छ। त्यसका लागि हामीले तयारी गर्छौं’, अध्यक्ष बरालले भने।
तर, बर्खा सुरु भएदेखि पहिरो गइरहेको उक्त खण्डमा निर्देशनालयले सडक मर्मतमा चासो नदेखाएपछि स्थानीयतह आफैं मर्मत गर्न लागिपरेको छ। खुर्कोट–घुर्मी खण्डमा सिन्धुलीका गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिका पर्छन्।
यद्यपि सडकमा पहिरो भने गोलन्जोरतर्फ बढी गएको स्थानीयतहको भनाइ छ। गेलन्जोरमा करिब २८ किलोमिटर सडक मध्यपहाडी राजमार्गको छ, जसमध्ये अधिकांश स्थानमा सडक माथिबाट पहिरो खस्दै आएको पालिकाले जनाएको छ।
त्यस्तै फिक्कल गाउँपालिकामा करिब ३० किमी सडक मध्यपहाडी राजमार्गको पर्छ। फिक्कल क्षेत्रमा भने २/३ स्थानमा सामान्य पहिरो मात्रै गएकाले यात्रु अलपत्रको अवस्था नरहेको फिक्कल गाउँपालिका प्रमुख पार्वती सुनुवार बताउँछिन्।
‘२/३ ठाउँमा पहिरो जाने समस्या छ तर, श्रमदान र पालिकाको आफ्नै मेसिनले मर्मत गरिरहेकाले हाम्रो धेरै बजेट खर्च भएको छैन’, उनले भनिन्। तर, गोलन्जोर गाउँपालिकामा भने २०७९ सालको बर्खामा मात्रै २० लाख बढी रकम मध्यपहाडी राजमार्ग मर्मतमा खर्च भएको छ।
गोलन्जोरमा पर्ने २८ किमि क्षेत्रको अधिकांश स्थानमा सडक अवरुद्ध हुँदा काठमाडौंबाट उक्त बाटो प्रयोग गरेर सिन्धुलीको पूर्वी क्षेत्र, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुरलगायत स्थानमा जाने यात्रुले समस्या भोग्दै आएका छन्।
अफ्नो स्थानीयतहमा यात्रुले सडकको कारण सास्ती बेहोर्दै आएपछि पालिकाले मेसिन भाडामा लिएर पहिरो पन्साउँदा २० लाखभन्दा बढी खर्च भइसकेको अध्यक्ष बराल बताउँछन्।
‘जिम्मेवारी हाम्रो होइन तर, केन्द्र सरकारलाई बाटो बनाउन आग्रह गरेर पत्र पठाउँदा कुनै चासो नदेखाएपछि आफ्नो पालिकामा अलपत्र परेका यात्रुलाई सहज बनाउन काम गरिरहेका छौं।’ पालिका अध्यक्ष बराल भन्छन्, ‘पालिकासँग मेसिन पनि छैन भाडामा काम गर्नुपर्छ, हामी निर्वाचित भएपछि मात्रै २० लाख बढी रकम खर्च भइसक्यो।’
पालिकाको जिम्मेवारीभन्दा बाहिरको सडक भएकाले पालिकाले बजेट विनियोजन गरेको छैन। सिमसिम पानी पर्दा नै पहिरो जाने भएकाले दसैंमा थप समस्या हुने पालिकाले जनाएको छ।
खुर्कोट–घुर्मी सडक खण्डको निर्माण तथा मर्मतको जिम्मेवारी मध्यपहाडी राजमार्गको साविक योजना कार्यालय धुलिखेललाई रहेको छ। तर, धुलिखेल कार्यालय प्रमुख दीपेन्द्र पाण्डे ठेकेदार सम्पर्कविहीन हुँदा सडक मर्मतमा समस्या भएको बताउँछन्।
सो सडक खण्डमा कालिका र बेदान्चीको जेभी पाट्नरले काम गरी रहेका छन्। तर, बर्खा लागेसँगै कार्यालयको सम्पर्कमा ठेकेदार कम्पनी नभएको उनको भनाइ छ।
क्यापिटल नेपालसँग कार्यालय प्रमुख पाण्डेले भने, ‘पहिरो जान थालेपछि ठेकेदारसँग सम्पर्क भएको छैन, मजदुर मात्रै भेटिन्छन्। त्यसैले सडक मर्मतमा समस्या भएको हो।’ तर, मध्यपहाडी राजमार्गमा आयोजना निर्देशक हरिकुमार पोखरेल भने खुर्कोट खण्डमा बढी पहिरो गएको कारण २ वटा मेसिन परिचालन गर्ने तयारी गरेको बताउँछन्।
‘एउटा लोडर वान वेयको ट्रयाक खोल्दै खोटाङसम्म पुग्छ, त्यसले खोटाङ–ओखलढुंगामा काम गर्छ। अर्को लोडर मुल्कोटबाट मगाएका छौं त्यसले खुर्कोटदेखि उदयपुरसम्म काम गर्छ, दसैंसम्म त्यसरी व्यवस्थापन हुन्छ’, आयोजना निर्देशक पोखरेलले भने।
उनका अनुसार दसैंको समयमा धेरै पहिरो गएर समस्या भएमा जनकपुरबाट अर्को मेसिन मगाएर भए पनि यात्रा सहज बनाउने योजना निर्देशनालयले बनाएको छ।