काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले धमाधम नयाँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
तीन मेगावाटको पिलुवाखोला जलविद्युत आयोजनाबाट यात्रा सुरु गरेको अरुण भ्यालीले पछिल्ला वर्ष नयाँ आयोजनामा लगानी बढाउँदै लगेको हो।
अरुणले एक वर्षअघि ९.८४ मेगावाटको काबेली बी १ क्यासकेड आयोजना पूरा गरी बिजुली उत्पादन गरिरहेको छ। दुई आयोजनाको जडित क्षमता झन्डै १३ मेगावाटबराबर छ।
त्यसैगरी १५ मेगावाटको माथिल्लो काबेली–२ आयोजना निर्माण तयारी थालेको अरुणलाई उक्त आयोजना बनाउन विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिँदैछ।
यस्तै उसले १४.५ मेगावाटको बुदुमखोला जलविद्युत आयोजना पनि बनाउने भएको छ। यसका लागि तयारी सुरु भएको कम्पनीको भनाइ छ।
आयोजनाको बिजुली प्रवाहका लागि अरुण भ्याली र नेपाल विद्युत प्राधिकरणबीच विद्युत जडान (ग्रिड कनेक्सन) सम्झौता भइसकेको छ।
आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) हुन बाँकी छ। सञ्चालनमा आएको र निर्माणमा जाने तयारीमा रहेका दुई आयोजना गरी केही वर्षभित्र अरुण भ्यालीको जडित क्षमता ४२ मेगावाट पुग्ने छ।
बिजुली उत्पादन लाइसेन्स लिन कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको छ। विभागले ३५ दिनपछि अरुण भ्यालीलाई लाइसेन्स दिने छ।
आयोजनाले २०८२ असोज ३ देखि बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। नदी प्रवाहमा आधारित (रन अफ द रिभर) आयोजनाबाट वार्षिक ८ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुनेछ।
आयोजनाको डिजाइन बहाब २१.८३ घनमिटर प्रतिसेकेन्ड र कूल हेड ७९.४० मिटर हुनेछ। आयोजनाका मुख्य संरचना काबेली खोलाको दायाँ किनारमा पर्छ।
आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृहबाट १० किलोमिटर टाढा १३२ केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिने छ।
आयोजना प्रदेश १ को ताप्लेजुङ सिरिजङ्गा, सिदिङवा र याङबर गाउँपालिका भएर बग्ने काबेली खोलामा पर्छ।
कम्पनीले ९.९४ मेगावाटको काबेली बी १ क्यासकेड आयोजना बनाउन चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँबराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।
उक्त आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा ऋण लगानी भएको छ।
हकप्रद सेयर निष्कासनपछि अरुण भ्यालीको चुक्ता पुँजी बढेर गत असारसम्म १ अर्ब ७२ करोड ९५ लाख पुगेको छ।
कम्पनीको सञ्चित कोष १ अर्ब १७ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीले गत वर्ष २१ करोड ९१ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो।
समीक्षा वर्षमा अरुण भ्यालीले ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको छ। क्यास्केड आयोजना सञ्चालनमा आएपछि कम्पनीको आम्दानीमा बढोत्तरी आएको हो।