काठमाडौं। जीवन बिमा कम्पनीहरूमा बिमा ‘पोलिसी सरेन्डर’ (बिमालेख समर्पण) गर्नेको संख्या बढ्दै जान थालेको छ। अघिल्लो वर्षको दाँजोमा गत वर्ष बिमा सरेन्डर गर्नेको संख्या २ सय ७ प्रतिशतले बढेको छ।
गत वर्ष कम्पनीमा जीवन बिमा गराएकामध्ये ८१ हजार ८ सय ८० जनाले पोलिसी सरेन्डर गरेका छन्। अघिल्लो वर्ष २६ हजार ६ सय ३ जनाले बिमालेख त्यागेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष बिमालेख त्याग्नेको संख्या ५५ हजार २ सय ७७ बढेको छ।
बिमा सरेन्डर बढेपछि यसलाई निरुत्साहित गर्न समितिले गत वर्ष नै जीवन बिमालेखसम्बन्धी निर्देशिका–२०७८ जारी गर्दै समर्पणमा नयाँ व्यवस्था गरेको थियो।
जसमा बिमालेख खरिद गरेको एक वर्षमै समर्पण गर्न पाउने व्यवस्था बढाएर तीन वर्ष पु¥याइएको छ। समितिले नयाँ निर्देशन दिए पनि बिमालेख समर्पण गर्नेको संख्या झन बढ्दै गएको तथ्यांकले देखिन्छ।
गत वर्ष नै पोलिसी सरेन्डर न्यूनीकरण गर्न बिमालेखसम्बन्धी निर्देशिका–२०७८ संशोधन गरिएको बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए।
‘गत वर्ष नै निर्देशिका संशोधन गरेका हौं,’ उनले भने, ‘पहिले बिमालेख खरिद गरेको एक वर्षमा नै समर्पण गर्न पाउने व्यवस्था बढाएर तीन वर्ष पु¥याएका छौं। अब बिस्तारै पोलिसी सरेन्डर न्यूनीकरण हुनेछ।’
तीन वर्षको भुक्तानीपछि मात्र पोलिसी सरेन्डर गर्न मिल्ने व्यवस्थाले ‘प्लान सरेन्डर’ लाई हतोत्साही गर्ने सिलवालले बताए। आगामी वर्षदेखि पोलिसी त्याग्ने घट्दै जाने उनको विश्वास छ।
गत आर्थिक वर्ष बिमितले ८१ हजार ८ सय ८० पोलिसी सरेन्डर गरेका थिए। यसवापत जीवन बिमा कम्पनीले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी पोलिसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआइसी) मा भएको थियो। त्यसबेला सरेन्डर भएका कूल बिमा पोलिसीमा एनएलआइसीको हिस्सा ३२.५० प्रतिशत थियो। त्यसबेला एनएलआइसीको ५ अर्ब १ करोड ४४ लाख रुपैयाँबराबरका २६ हजार ६ सय ३ पोलिसी सरेन्डर भएका थिए।
त्यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र राष्ट्रिय बिमा संस्थानको धेरै पोलिसी सरेन्डर भएको समितिले जनाएको छ।
त्यसैगरी एलआइसीले २ अर्ब ९३ करोड ३६ लाख रुपैयाँबराबरका ९ हजार ८ सय ६३ पोलिसी सरेन्डर गरेको छ। कम्पनीबाट भएका पोलिसी सरेन्डरको बजार हिस्सा १२.६७ प्रतिशत छ।
बिमा संस्थानमा गत आर्थिक वर्ष ८६ करोड ५५ लाख रुपैयाँ बढीका १६ हजार ९ सय १७ पोलिसी सरेन्डर भएका छन्। कम्पनीको पोलिसी सरेन्डर बजार हिस्सा २०.६७ प्रतिशत हो।
त्यसैगरी नेसनल लाइफको ८५ करोड ९७ लाख रुपैयाँ बढीको ७ हजार ५ सय ६६ पोलिसी सरेन्डर भएका छन्। उक्त अवधिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५८ करोड ९० लाख बढीको ७ हजार ३ सय ६३, मेटलाइफको ३६ करोड ९ लाखबराबरका ३ हजार ३ सय ५७, प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको १९ करोड ९४ लाखबराबरका २ हजार ९ सय ५० पोलिसी सरेन्डर भएका छन्।
त्यस्तै गुराँस लाइफको ३९ करोड ६ लाखबराबरका १ हजार ८ सय ५९ र सूर्या लाइफको २६ करोड ७० लाख रुपैयाँको १ हजार ५ सय ९६ पोलिसी सरेन्डर भएका हुन्।
समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड ७४ लाख रुपैयाँबराबरको ७ सय १३, ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ६ करोड ४६ लाखको ४ सय ७७, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ८१ लाखको ४ सय ५५, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ६ करोड ४१ लाखको ३ सय ६४ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ८८ लाखको ३ सय ५३ पोलिसी सरेन्डर भएका छन्।
उक्त अवधिमा सिटिजन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ३ करोड १४ लाखको ३ सय ३७, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड ४० लाखको ३ सय २४, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १४ करोड ७७ लाखको २ सय ८६, सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड ४५ लाख रुपैयाँबराबरको २ सय २६ बिमा पोलिसी सरेन्डर भएका छन्।