काठमाडौं। सर्वसाधारण बचतकर्ताको लाखौं रकम कुम्ल्याएर बेपत्ता आरक्ष सहकारीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले दाङमा जग्गा खरिद गरेको भेटिएको छ।
सहकारीको पैसा लिएर फरार भएका अध्यक्ष शारदा आचार्य न्यौपाने र सिइओ कमल न्यौपानेले दाङमा जग्गा किनेको पत्ता लागेको हो। उनीहरू श्रीमान–श्रीमती हुन्। गत भदौ २ देखि फरार दुवैजना महानगर र अन्य सञ्चालकको सम्पर्कमा भने आएका छैनन्।
सम्पर्कमा नआएपछि काठमाडौं प्रहरी परिसर टेकुलाई काठमाडौं महानगरपालिकाअन्तर्गत सहकारी विभागले छानबिन र खोजबिन गरिदिन पत्र काटेको छ।
भदौ ९ सम्म खुलेको सहकारीका अध्यक्ष शारदा र सिइओ कमल फरार भएको सूचना पाएपछि अन्य सञ्चालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारी कार्यालयमा टाँसेका थिए। आरक्ष सहकारीले सीतापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो।
अहिलेसम्म आरक्षका करिब ४ सय बचतकर्ता सम्पर्कमा आएको महानगर सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। ‘सहकारीका अध्यक्ष र सिइओ सम्पर्कमा आएका छैनन्,’ पोखरेलले भने, ‘उनीहरू दुवैजना दाङमा रहेको सूचना आएको छ।’ दाङमा अध्यक्ष र सिइओले दुई टुक्रा जग्गा किनेको सूचना आएको उनले बताए।
‘सहकारीका अध्यक्ष र सिइओ श्रीमान–श्रीमती रहेको खुलेको छ,’ उनले भने, ‘उनीहरूको नाममा दाङमा दुई टुक्रा जग्गा खरिद गरिएको खुलेको छ।’ उनीहरू दाङमा भएको र जग्गा किनेको कुरा पृष्टि भने भइनसकेको पोखरेलले जानकारी दिए। यता, आरक्ष सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।
सहकारीका नाममा कुनै सम्पत्ति नभएको पोखरेलले बताए। केही साताअघि काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारीका सञ्चालक पनि ५ अर्बभन्दा बढी हिनामिना गरेर फरार भएका थिए। अहिले उक्त सहकारीमा करिब १ हजार २ सय बचकर्ताले उजुरी दिएसँगै सबै सञ्चालकको सम्पत्ति रोक्का गरिएको छ।
यस्तै ५ अर्ब ८४ करोडभन्दा बढी ठगी गरेको सिभिल सहकारीको विषय अहिले अदालतमा छ। यसअघि पनि दर्जनौं सहकारी सञ्चालक फरार भएर कानुनी कारबाहीको प्रक्रियामा रहेका छन्। खासगरी घरजग्गामा लगानी गरेका सहकारीहरू अहिले नियामकले घरजग्गामा कडाइ गरेसँगै समस्यामा पर्न थालेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। समस्याग्रस्त सहकारीका ८ हजार ९ सय २६ जना बचतकर्ताले आफ्ना बचत दाबी गरेका छन्। हालसम्म २ सय २० बचतकर्ताले दाबी रकम पाउन सफल भएका छन्।
अन्य ८ हजार ७ सय ६ जनाले अझै दाबी रकम पाएका छैनन्। बिस्तारै अन्य बचतकर्ताको पैसा फिर्ता गर्न सकिने आसा पलाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ।