काठमाडौं। यसपालि दसैंमा काठमाडौं उपत्यकाका लागि ६० हजार खसी–बोका तथा च्याङ्ग्रा ल्याउने तयारी सरकारको छ। कोभिड संक्रमण हटेपछि यो वर्ष दसैंमा चहलपहल बढ्ने हुँदा ६० हजार खसी–बोका खपत हुने पशुसेवा विभागले जनाएको छ।
केही दिन अघिसम्म विभागले गत वर्षकै हाराहारीमा खसी–बोका उपत्यका भित्रिने जनाएको थियो। तर, कोरोना संक्रमण घटेसँगै फेरि पशुचौपायाको माग बढ्ने अनुमान विभागको छ।
गत वर्ष ३८ हजार खसी–बोका उपत्यकामा खपत हुने आकलन गरे पनि करिब ५० हजार खपत भएको विभागले जनाएको छ। यसपालि भने ६० हजारसम्म खपत हुने विभागको अनुमान छ। जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी–बोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ।
तर, मूल्य बढी पर्ने भएका कारण च्याङ्ग्रा ल्याउने सम्भावना कम हुँदै गएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी बताउँछिन्। उनका अनुसार यो वर्ष काठमाडौं भित्रिने पशुचौपायाको मूल्य निर्धारण भइसकेको छैन।
विभिन्न जिल्लाबाट खसी–बोका काठमाडौं ल्याउन संकलन भइरहेको कम्पनीले जनाएको छ। सम्बन्धित जिल्लाबाट खसी–बोकाको मूल्य निर्धारण भएर काठमाडौं आएपछि कम्पनीले सम्पूर्ण लागत रकम जोडेर मूल्य निर्धारण गर्ने जनाएको छ।
घटस्थापनापछि काठमाडौं थापाथलीबाट सुपथ मूल्यमा खसी–बोका बिक्री वितरण सुरु हुनेछ। सोही कारण केही दिनपछि मात्रै मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ। हाल काठमाडौंमा खसी–बोकाको मूल्य किलोको ७ सयदेखि ७ सय ५० रुपैयाँ छ।
त्यस्तै चौपाया खरिद बिक्री संघले ४० हजार खसी–बोका काठमाडौं ल्याउने छ। त्यसबाहेक उपत्यका वरपरका जिल्लाबाट किसानका खसी–बोका ल्याउने प्रमुख पशुविकास अधिकृत डा. माधव अर्यालले बताए।
‘६० हजार खसी–बोका काठमाडौं भित्रिने अनुमान गरिएको हो। यो संख्या
घटबढ हुन्छ। दुई वर्षदेखि धेरैले दसैं–तिहार राम्रोसँग मनाउन पाएनन्,’ उनले भने, ‘यो वर्ष कोरोना संक्रमण कम भएकाले चाडबाड मनाउनेको संख्या बढ्ने हाम्रो आकलन हो।’
काठमाडौं भित्रिने खसी–बोका विभिन्न जिल्लाबाट ल्याइने छ। गत वर्ष दसैंमा पनि स्वदेसी खसी–बोकाले नेपालको माग धानेको थियो।
च्याङ्ग्रा पनि ६० हजारको आकलनभित्रै पर्ने विभागले जनाएको छ। यद्यपि, खाद्य कम्पनीबाहेक अन्य आधिकारिक निकायबाट उपत्यकामा च्याङ्ग्रा भित्रिँदैन। तर, खाद्य कम्पनीले मूल्य बढी भएका कारण च्याङ्ग्रा ल्याउने सम्भावना कम हुँदै गएको जनाइसकेको छ।
जसका कारण काठमाडौंमा च्याङ्ग्रा भित्रिने सम्भावना भने छैन। तर, व्यवसायीले भने ल्याउने सम्भावना छ।
‘खाद्य कम्पनीबाहेक अरूले च्याङ्ग्रा काठमाडौं ल्याउने आधिकारिक निकाय छैन,’ पशु विकास अधिकृत अर्यालले क्यापिटल नेपालसँग भने, ‘अन्य व्यवसायीले आफ्नै तरिकाले ल्याउन सक्छन् तर, त्यसको विवरण हामीसँग हुँदैन।’
गत वर्ष काठमाडौं उपत्यकामा प्रदेश १ बाट ११ हजार, मधेस प्रदेश ६ हजार, बागमती प्रदेशबाट १७ हजार ५ सय खसी–बोका ल्याइएको थियो।
त्यस्तै गण्डकी प्रदेशबाट २ हजार ५ सय, लुम्बिनी प्रदेश ७ हजार ५ सय, कर्णाली प्रदेश ७ हजार र सुदूरपश्चिम प्रदेशबाट ९ हजार खसीबोका भित्रिएका थिए।
यो वर्ष भने कुन प्रदेशबाट कति पशुचौपाया काठमाडौं भित्रिन्छन् भन्ने तथ्यांक तयार भइसकेको छैन। हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार खसी–बोकाको माग छ। दसैं–तिहारमा भने माग उच्च हुने गर्छ।