काठमाडौं । सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले नेपालमै टेलिभिजन उत्पादन गर्न थालेको छ । कम्पनीले राजधानीको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्ट स्थापना गरेको छ । एलजी प्लान्टको एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले उद्घाटन गरेका छन् ।
‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ’, चुनले भने ।
नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको उनले बताए । साथै, आगामी दिनमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिएको उनले सुनाए ।
निकट भविष्यमा, एलजीका होम एप्लायन्स र इन्टरटेनमेन्ट एप्लायन्स नेपालमै एसेम्बल हुने भएका छन् । जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउनेछ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी खुसी भएकाे बताए ।
एलजी इलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्ने जानकारी दिए । नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू सिर्जना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मूल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउने चौधरीको भनाइ छ ।
नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्न एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको छ ।
चुनले मीनभवन, काठमाडाैंमा रहेको एलजी सपको पनि भ्रमण गरेका छन् । ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म नेपालमा एलजीका ८ वटा शोरुम छन् ।
यसैबीच चुनले नेपालमा टिभी प्यानल निर्माण एकाइ स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सिजी इन्डस्ट्रियल पार्कको भ्रमण गरेका छन् ।
उनले नवलपरासीको देवचुलीमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कुल) को भ्रमण पनि गरे । कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायतामार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पुर्याइरहेको छ ।
संस्थाले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको छ । एलजी इलेक्ट्रोनिक्स लगभग सबै देशहरूमा उपस्थिति राख्ने ७५ हजार भन्दा बढीे अन्तर्राष्ट्रिय कार्यबल भएको, टेक्नोलोजी र इलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो ।
दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो । टिभी, होम एप्लायन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू उपभोक्ता र व्यावसायिक उत्पादनहरूको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्डहरू हुन् ।